‘मान्छे’ भएर बाँच्न नपाइने देश !

| 2020 Sep 09 | 02:01 pm 171

■ देवप्रकाश त्रिपाठी

सडकमा रक्तपक्ष भएर मानिस छटपटिइरहेका हुन्छन्, तिनलाई आफ्नो सवारी साधनमा राखेर अस्पताल पुऱ्याउन सकिँदैन । कदाचित पुऱ्याइयो भने अस्पतालमा तैनाथ प्रहरीले भन्नेछ- ‘तपाईं जान पाउनुहुन्न, यो बिरामी या घाइतेका बारेमा सबै तथ्य स्पष्ट नभएसम्म तपाईं हाम्रो नियन्त्रणमा रहनुपर्छ ।’ आफ्नो काम छोडेर सेवामा गएका मानिसले प्रेम, सम्मान र प्रशंसाको सट्टा अर्को सास्ती ब्यहोर्नुपर्ने हुन्छ, यसरी सडकमा छटपटिइरहेका घाइते या बिरामीलाई चाहेर पनि अस्पताल नलैजान हाम्रो कानून र ब्यवस्थाले बाध्य बनाउँछ ।

रातको समयमा कतिपय महिला या पुरुष निकै हतारिएर दौडिरहेको अवस्थामा देखिन्छन् । पुरुषले आफैंमाथि लुटपाट गर्ने र महिला भए ‘बात लगाउने’ डरका कारण तिनलाई ‘लिफ्ट’ दिन सकिँदैन । पीडामा देखिएकाहरूलाई सेवा गर्न नपाएकोमा थप दुःखी मन बनाउँदै बाटो लाग्न बाध्य हुनुपर्छ ।

सवारी साधनले सडकमा नियमको पालना गर्नु अनिवार्य हुन्छ र, नियम नमान्ने चालक या पैदलयात्रीलाई संसारमै सभ्य नागरिक मानिँदैन । तर, नियमको पालना गर्ने चालक समयमै गन्तव्यमा पुग्न प्रायः असमर्थ रहन्छ या सडकमा ‘अघोरी’हरूको अवाञ्छित गाली पटक–पटक खाइरहन्छ । नियम मिचेर अघि बढ्नेहरू गन्तव्यमा सजिलै पुगिरहेका हुन्छन् ।

कुनै पनि सेवाको क्षेत्र, जहाँ लामवद्ध भइ आफ्नो पालो आएपछि मात्र सेवा ग्रहण गर्नुपर्ने हुन्छ, त्यहाँ पालो मिचेर अघि बढ्नेहरूले समयमै काम फत्ते गर्छन्, असभ्य देखिन या हुन नचाहनेहरूले हैरानी ब्यहोर्नुपर्ने हुन्छ ।

घुस खुवाएर आफ्नो काम बनाउनुलाई अनैतिक र आपराधिक कार्य मानिन्छ, तर त्यस्तो अपराध गर्न हरेक कर्मशील व्यक्तिलाई बाध्य तुल्याइन्छ । जो घुस खुवाउने अपराधमा संलग्न हुन चाहँदैन, उसले न कुनै उद्यम–ब्यवसायमा सफलता प्राप्त गर्न सक्छ, न त न्याय र अवसर पाउन नै सफल हुन्छ ।

नदी या खोलाबाट ढुङ्गा र बालुवा निकाल्न नपाइने हाम्रो धार्मिक, सांस्कृति र पारम्परिक मान्यता छ । यो मान्यता पर्यावरण र प्रकृति रक्षासँग सम्बन्धित भएको स्वतः बुझिन्छ । प्रकृति र पर्यावरण रक्षाको पक्षमा उभिनेहरू मारिने र चौतर्फी आक्रमणको निसाना बन्ने, तर प्रकृतिका भक्षकहरू सम्मानित र राज्यद्वारा पुरष्कृत हुने नयाँ परम्परा बसाइएको छ ।

कसैका विरुद्ध षडयन्त्र रच्नु, कसैलाई झुठा आरोप लगाउनु या जालझेल र तिकडम गरेर निजी स्वार्थ सिद्धि गर्नु गलत हो, तर नेपाली राजनीतिक, आर्थिक र सामाजिक जीवनमा त्यस्तो गल्ती गर्नेहरू अगाडि र त्यसप्रकारका गल्ती गर्न नचाहनेमध्ये अधिकाङ्श पछाडि परिरहेका देखिन्छन् ।

राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डित सार्वभौमिकता, सामाजिक सद्भाव र स्वधर्म–संस्कृतिका पक्षमा बोल्नु प्रतिगामी तथा जातीय र क्षेत्रिय विभाजन, खण्डित सार्वभौमिकता एवम् स्वधर्म संस्कृतिको निन्दा र परधर्मको पक्षपोषण गर्नुलाई चाहिँ अग्रगमन भन्ने धारणा जबर्जस्त स्थापित गर्न खोजिएको छ । देशको विपक्षमा उभिनु जायज र पक्षमा अडान राख्नु नाजायज ठहर हुने मानवराजको चरित्र होइन, तर हामी यस्तै राज झेल्न बाध्य छौँ । सत्य र विवेकीय अभ्यास गर्न नपाइने, न्यायिक र तथ्यपूर्ण व्यवहार गर्न नसकिने, तुच्छ छालाको रक्षाका निमित्त झुठ, बेइमानी र अविवेकी व्यवहार अवलम्बन गर्न बाध्य तुल्याइने देशलाई मान्छेको देश भन्न मिल्ने हो कि होइन ? प्रश्न उठाउन विलम्ब भइसकेको छ ।

बहादुर शाह र भीमसेन थापाहरू अफवाह, विवेकहीनता र भीडको शिकार भएका थिए, अहिले पनि यो क्रम जारी छ । कसैलाई आरोप मात्र लाग्नुपर्छ त्यसको निरुपण कुनै अनुसन्धानात्मक निकाय या छानवीन समितिहरूबाट निष्पक्ष र स्वतन्त्र ढङ्गले हुन सक्दैन । भीडको इच्छाबमोजिमको ठहर सम्बन्धित निकायले गरिदिनु पर्छ । भीडको भावना र इच्छाअनुरुपको प्रतिवेदन नबनेकोमा तत्कालिक सभामुख तारानाथ रानाभाटको हुर्मत लिने काम भयो । बहुचर्चित निर्मला पन्त हत्या काण्डमा पनि भीडको भावनाअनुरुप सरकार अघि बढ्दा कैयन निर्दोष मानिसले प्रताडना ब्यहोर्नु पऱ्यो ।

बहादुर शाह र भीमसेन थापाहरू अफवाह, विवेकहीनता र भीडको शिकार भएका थिए, अहिले पनि यो क्रम जारी छ । कसैलाई आरोप मात्र लाग्नुपर्छ त्यसको निरुपण कुनै अनुसन्धानात्मक निकाय या छानवीन समितिहरूबाट निष्पक्ष र स्वतन्त्र ढङ्गले हुन सक्दैन । भीडको इच्छाबमोजिमको ठहर सम्बन्धित निकायले गरिदिनु पर्छ ।

भीडको चरित्र आवेगी र अविवेकी हुन्छ, अविवेकमा लिइने कुने पनि निर्णय मानवतासम्मत हुन सक्दैन ।

आजको नेपाल पृथ्वीनारायण शाहको देन हो, नेपाली भएकोमा गौरव गर्ने हरेकका निम्ति पृथ्वीनारायण शाह प्रथम सम्मानित व्यक्ति हुन् । तर, तिनै पृथ्वीनारायणको शालिक भत्काइयो र राष्ट्रिय एकताका नाममा दिइने एक दिनको बिदा पनि खारेज गरियो । यो कार्य गलत भयो भन्न खोजिँदैन, जसले यसलाई गलत भनेका छन् तिनैलाई ‘गलत’ करार दिन्छ यो राज्य । समाजचाहिँ मौन बसिदिन्छ ।

एकसय चार वर्ष लामो राणा शासनकालमा भीड निर्णायक हुन पाएन, त्यसअघि र पछिको समयचाहिँ विवेक नै निर्णायक बन्न नसकेको देखिन्छ । अचेल त नेपालमा मानिस जन्मनै छोडेको छ, कोही कम्युनिष्ट भएर जन्मिन्छन् त कोही काङ्ग्रेस, कोही जनजाति, आर्य, दलित, मधेशी, थारु, खस, नेवार आदि भएर जन्मिएका हुन्छन् । मान्छे भएर जन्मन पाउनु टाढाको कुरा, नेपाली मात्र भएर जन्मने क्रम पनि प्रायः बन्द भएको छ । कोही नेपाली मानव भएर जन्मियो भने पनि उसलाई ढुङ्गा हानी–हानीकन काङ्ग्रेस, कम्युनिष्ट, जनजाति, मधेशी, थारु, दलित आदि के–केमा रुपान्तरण हुन बाध्य तुल्याइन्छ ।

प्राणी बनेर हेर्दा देखिने संसार एउटा हुन्छ, मानिस भएर हेर्ने संसार अर्कै हुन्छ र, नेपाली मात्र भएर संसारलाई हेरियो भने पनि बेग्लै देखिन्छ । तर यहाँ त्यसभन्दा पनि तल ओर्लिएर जाति या क्षेत्रका बासिन्दा भएको परिचयलाई राज्य स्वयमले प्रथम प्राथमिकतामा राखेको छ । मान्छे त हुनै नपाइने, नेपाली बन्न समेत निरुत्साहित गर्ने कार्य राज्य स्तरबाट नै भइरहेको छ ।

मान्छे प्रमाणित हुन प्राणीमा विवेक हुनुपर्छ र व्यक्तिमा निहित विवेक प्रयोगमा ल्याउन सक्नुपर्छ । प्राण मात्र भएको जीवलाई वनस्पति, प्राण र चेतना भएकोलाई जनावर तथा प्राण र चेतनामा विवेक थपियो भने त्यस्तो जीवलाई मात्र मान्छे भनिने हो । नेपालमा जन्मिएका मानिस न विवेक प्रयोग गर्न सक्छन् न सत्य बुझ्न, कदाचित सत्य बुझिएछ भने पनि प्रकट गर्न सक्दैनन् । विवेकसम्मत ब्यवहार गर्न नसक्ने र सत्य बोल्नसमेत नखोज्ने समाज कसरी सभ्य हुन सक्छ ? असभ्य समाज समृद्ध कसरी बन्न सक्छ ? छैठौँ शताब्दीमा चिनियाँ यात्री ह्वेन साङले हामीलाई जाली, फटाहा र धोखेबाज ठहर गरेका हुन्, के त्यसपछिका चौध सय वर्षमा पनि हामीले आफूलाई बदल्न नसकेकै हो ?

पार्टीहरू पक्ष हेरेर निर्णय लिन्छन्, न्यायाधीशहरू कानूनका किताब र तथ्य खोलेर नभइ झ्याल खोलेर बाहिरको वातावरण हेर्छन् र निर्णय सुनाउँछन् । त्यसैले कोही मारिँदा यहाँ अनुसन्धान, तथ्य र कानूनका आधारमा नभइ ‘हत्यारा’लाई कारवाहीको माग गर्दै निस्कने जुलुसको आकार–प्रकारका आधारमा निर्णय दिइन्छ ।

मान्छेभन्दा माथि कानून हुन्छ र कानूनभन्दा पनि माथि शक्ति हुन्छ भन्ने जानकारी आम नभएको होइन । नेपालमा विवेकपूर्ण कानूनीराजको न्यूनतम अभ्यास पनि हुन सकेन । पार्टीहरू पक्ष हेरेर निर्णय लिन्छन्, न्यायाधीशहरू कानूनका किताब र तथ्य खोलेर नभइ झ्याल खोलेर बाहिरको वातावरण हेर्छन् र निर्णय सुनाउँछन् । त्यसैले कोही मारिँदा यहाँ अनुसन्धान, तथ्य र कानूनका आधारमा नभइ ‘हत्यारा’लाई कारवाहीको माग गर्दै निस्कने जुलुसको आकार–प्रकारका आधारमा निर्णय दिइन्छ ।

भीड विवेकशून्यतामा रमाउँछ, विवेकशून्यताले मानवताको हत्या गरिरहेको हुन्छ । हामीले बाँचिरहेको समय ठ्याक्कै यस्तै हो, जहाँ मान्छे मानवताको व्यवहार गर्न असमर्थ छन् । त्यसैले यहाँ संविधान, कानुन, नियम आदि सबै आलङ्कारिक हुन् । अलङ्कार केवल अरुलाई देखाउनका निम्ति प्रयोग हुन्छन् र हामीले संविधान, कानून, नियम, नीति, निर्देशिका, आचार–संहिता जे–जे बनाएको भए पनि त्यसको प्रयोग विवेकसम्मत ढङ्गले हुँदैन, गरिँदैन । आफूमाथि कुनै आरोप लाग्नुपर्छ, त्यसपछि साथी, समाज, सञ्चारमाध्यम र राज्यले कसरी लखेट्छ अनि थाहा हुन्छ हाम्रो राज्य र समाजको विवेकहीनता । ‘ढिकी’हरूले ओखलको पीडा त्यसबेला मात्र बुझ्नेछन् जब ढिकीले ओखलको अवस्था व्यहोर्नुपर्ने हुन्छ ।

सत्य बोल्न डराउनुपर्ने देश संसारमा नेपालबाहेक अरु छ कि छैन यो अध्ययन–अनुसन्धानको विषय हो । २०५८ सालमा नारायणहिटीभित्रै राजपरिवारको हत्या भयो, परिवारका कतिपय सदस्य घाइते भए । त्यस दुःखद घटनाका साक्षी, प्रत्यक्षदर्शी र पीडितहरूले दीपेन्द्रबाट उक्त घटना भयो भने, भनिरहेका छन् । तर तिनका कुरामा विश्वास गर्न यो समाज तयार भएन । न घटनाको छानवीन गर्न गठित उच्च स्तरीय समितिको प्रतिवेदनलाई नै पत्याइयो । बरु अदृष्य कुनाकाप्चाबाट कुनै बाबुराम–प्रचण्डले राजदरबार हत्याकाण्ड पारस या तत्कालिक अधिराजकुमारबाट भएको घोषणा गरिदिए, यो समाजले तिनकै कुरा टिपेर हिँड्यो । घटनाका पीडितले आफूलाई फलानाले गोली चलाएको हो भनेर भनिरहे, भन्दाभन्दै थाकेर अब भन्न नसक्ने अवस्थामा पुगिसके, नकारात्मकतामा रमाउने र हल्ला समाएर होहल्ला गर्ने हाम्रो मानसिकताले प्रत्यक्षदर्शी र पीडितका कुरा खारेज गरेर प्रचण्डहरूको जङ्गली प्रचारमा सही थापे । अहिले घटना भएको दुई दशकपछि पनि पीडित र प्रत्यक्षदर्शीका बयान खारेज गरेर जङ्गली प्रचारमै सही थापिँदैछ । तथ्य बुझ्ने र सत्य पत्ता लगाउने जाँगर हामी नेपालीमा देखिँदैन, बरु सत्य बोल्नेहरूकै खिल्ली उडाइन्छ, हुर्मत लिइन्छ ।

आफूमाथि कुनै आरोप लाग्नुपर्छ, त्यसपछि साथी, समाज, सञ्चारमाध्यम र राज्यले कसरी लखेट्छ अनि थाहा हुन्छ हाम्रो राज्य र समाजको विवेकहीनता । ‘ढिकी’हरूले ओखलको पीडा त्यसबेला मात्र बुझ्नेछन् जब ढिकीले ओखलको अवस्था व्यहोर्नुपर्ने हुन्छ ।

दीपकराज जोशी का.मू. प्रधानन्यायाधीश थिए, नेपाल ल क्याम्पसका शिक्षक र डीन हुँदै उनी सार्वेच्च अदालतका न्यायाधीश बनाइए । जब उनलाई प्रधानन्यायाधीशमा ‘कन्फर्म’ गर्नुपर्ने भयो, उनको शैक्षिक योग्यताको प्रमाणपत्रमाथि प्रश्न उठाइयो, नक्कली भएको आरोप लगाइयो र बिनाअनुसन्धान आरोप लगाउनेहरूबाट नै ठहर गर्ने गैरन्यायिक कार्य पनि भयो । जोशीले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र सक्कली भएको दाबी गर्दै छानवीन गरिदिन माग गरे, तर उनलाई सुन्न कोही तयार भएनन्, भीडले ताली बजाएर आरोपको अनुमोदन गरिदियो, उनी प्रधान्न्यायाधीश बन्नबाट वञ्चित भए ।

त्यस्तै, प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति र शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आवाज कुनै एउटा कुनोबाट उठाइयो । गोपालले आफ्नो सबै प्रमाण जुटाए, तर भीडलाई ताली बजाउन लगाएर छुट्टै जन्ममिति निर्धारण गरी एउटा मामुली कर्मचारीमार्फत उनलाई अपदस्थ गरियो, देशको बहालवाला प्रधानन्यायाधीश आफैं अन्यायमा परे, तथ्य बुझेर सत्य पत्ता लगाउने माग यो समाजले राखेन, बरु पराजुलीको पतनमा रमाइयो ।

लोकमान सिंह कार्कीले ‘साना माछा’माथि निगरानी बढाउन्जेल ‘ठूला माछा’ समात्न नसकेकोमा उनको आलोचना हुन्थ्यो । जब लोकमानले माओवादी लडाकुको नाममा उपलब्ध रकममा अर्बौं भ्रष्टाचार भएको विषयमा छानवीन शुरु गरे, जब उनले शेरबहादुर देउवा र आरजुदेखि झलनाथ खनाल र माधव नेपालसम्मलाई विभिन्न प्रकरणमा छानवीनको प्रक्रिया अघि बढाए, त्यसपछि लोकमान सिंह कार्कीविरुद्ध देशभरिका भ्रष्टाचारीहरूबाट सङ्गठित हमला भयो, यो समाजले कार्कीको बहिर्गमनलाई ताली बजाएर स्वागत गऱ्यो । भ्रष्टाचारीहरूका विरुद्ध साहसिक कदम चालिएकोमा उनलाई साथ दिनुभन्दा अख्तियारको जिम्मेवारीबाट ओरालिएका लोकमानविरुद्ध जाइलागेर रमायो यो समाज, सत्य–तथ्य बुझेर विवेकसम्मत व्यवहार गर्न खोजेन ।

एउटा टेप रेकर्ड प्रकरण सार्वजनिक भएपछि तत्कालिक मन्त्री गोकुल बास्कोटाले आफूमाथि लागेको आरोपबारे छानवीन होस् भन्दै पदबाट राजीनामा दिए । यसरी आफूमाथि आरोप लाग्नेबित्तिकै राजीनामा दिएर छानवीनको माग भएको विरलै घटनामध्ये यो पर्दछ । त्यसअघि मन्त्री बिना मगरमाथि बहालवाला सचिवले नै आफूसँग घुस मागेको आरोप लगाएका थिए । पत्रकार सम्मेलन नै गरेर मन्त्रीमाथि सचिवले आरोप लगाउँदा पनि न बिनाले पदबाट राजीनामा दिएर छानवीनको मार्ग सहज तुल्याइदिइन्, न समाजले बिनामाथि दबाब पैदा गर्न आवश्यक ठान्यो । यहाँ पनि नेपाली समाजले विवेक प्रयोग गर्न नखोजेकै देखियो ।

देशको राष्ट्रिय एकता, धर्म, संस्कृति र मौलिक सभ्यताको पक्ष लिनेहरू उपेक्षित तथा देशको पौराणिक नाम र झण्डा बदल्न खोज्नेहरू, राष्ट्रिय झण्डा जलाउनेहरू, जातीय विभाजन र सामाजिक अनेकताको वकालत गर्नेहरू चाहिँ सम्मानित भइरहने कारण पनि विवेकहीनता नै हो । विवेकहीनताको अन्त्य नै मानवताको शुरुवात हो तर यस्तो शुरुवातको सम्भावना अझै देखिएको छैन । त्यसैले मान्छे भएर बाँच्न नपाइने अनौठो र दुर्लभ परिचय स्थापित गर्ने दिशामा यो देश द्रुत गतिमा अघि बढ्दैछ ।

महान् नेपाली दार्शनिक रुपचन्द्र बिष्ट भन्नुहुन्थ्यो– ‘नेपाली समाजमा सत्य जति पटक भने पनि विश्वास नगर्ने तर झुठ छिसिक्क कसैले भनिदियो भने धुमधामसँग फैलिएर जान्छ । झुठै बढी मन पराउने नेपाली समाजको स्वभाव या मनोविज्ञान छ, त्यसैले यहाँ इमानदारीपूर्वक सत्य कर्म जुटिरहन गाह्रो छ ।’ दार्शनिक विष्टको अवसान अप्रत्यक्ष ढङ्गले गरिएको आत्महत्या थियो र, उनले आत्महत्या गर्नुपर्ने एक मात्र कारण नेपाली समाजको सोच, मनोविज्ञान र व्यवहार थियो । जुन विष्टले आफ्नो अवसान हुनुभन्दा चार वर्षअगाडि नै घटना र विचारलाई अन्तर्वार्ता दिएर खुलासा गरेका थिए ।

सृष्टिकर्ताको उपेक्षा गर्ने, पालनकर्ताको चाकडीमा रमाउने र संहारकर्ताको पूजा गर्ने मान्छेको गुण–चरित्र भए पनि खास समयमा विवेक र बुद्धिको प्रयोग गर्नेहरूले न्यायिक तथा भौतिक समृद्धि हासिल गरेका पनि छन् । तर नेपालमा भने विवेकसम्मत व्यवहारको पूरै खडेरी परेको छ । त्यसैले यहाँ मान्छे मात्र भएर बाँच्न नपाइने कम्युनिष्ट–काङ्ग्रेस र जनजाति, मधेशी, दलित आदि कुन्नि के–के हुनुपर्ने, सत्य र इमानको पक्ष लिन नपाइने, बेइमानी र झुठले राज गर्ने जुन स्थिति छ, यसले नेपाललाई सभ्य र समृद्ध नतुल्याउने मात्र होइन, कालान्तरमा राष्ट्रिय अस्तित्व नै नास गर्ने सम्भावना दोएको छ । देशको राष्ट्रिय एकता, धर्म, संस्कृति र मौलिक सभ्यताको पक्ष लिनेहरू उपेक्षित तथा देशको पौराणिक नाम र झण्डा बदल्न खोज्नेहरू, राष्ट्रिय झण्डा जलाउनेहरू, जातीय विभाजन र सामाजिक अनेकताको वकालत गर्नेहरू चाहिँ सम्मानित भइरहने कारण पनि विवेकहीनता नै हो । विवेकहीनताको अन्त्य नै मानवताको शुरुवात हो तर यस्तो शुरुवातको सम्भावना अझै देखिएको छैन । त्यसैले मान्छे भएर बाँच्न नपाइने अनौठो र दुर्लभ परिचय स्थापित गर्ने दिशामा यो देश द्रुत गतिमा अघि बढ्दैछ ।

के नेपाललाई मान्छेहरूको देश बनाउन सकिँदैन ? के हामी अमान्छेहरूको भीडमा अमान्छे भएरै जीवन बाँच्नु र मर्नुपर्ने हो ? यदि होइन भने परिवर्तन आफैंबाट शुरु गरौँ, त्यसपछि मात्र दानवराजको अन्त्य सम्भव हुन सक्नेछ । नकारात्मक, झुठ, होहल्ला र नियोजित प्रचारबाजीका आधारमा धारणा बनाउने र त्यसरी बनेको धारणाअनुरुपको परिणाम खोज्ने गैरविवेकीय संस्कार नै हाम्रो उन्नतिको मूख्य बाधकपक्ष हो । यस्तो प्रवृत्तिको अन्त्य नभएसम्म देशमा न्यायिक र सभ्य वातावरण निर्माण हुने सम्भावना रहन्न, तर विडम्बना ! हामी आफूलाई बाहेक अन्य सबै स्थिति बदल्न सदैव तत्पर छौँ । आफूलाई नबदलिकन खोजिने या हुने परिवर्तनले थप जटिलता बाहेक अरु कुनै परिणाम नदिने अब शिद्ध भइसकेको छ । मान्छे मात्र हुन/बन्न पाइँदैन भने पनि कम्तिमा नेपाली भएर बाँच्ने परिस्थिति निर्माण गर्नेतर्फको अग्रसरता अपरिहार्य भइसकेको छ । घटना र विचारबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.