काठमाडौं, चैत २६: स्वदेशी लगानीमै निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट वैशाखमा विद्युत् उत्पादनको तयारी भएको छ। बाँकी काम १० वैशाखभित्र सम्पन्न गरी ११ गतेदेखि सुरुङमा थोरै परिमाणमा पानी पठाउने गरी काम भइरहेको छ। त्यसपछि मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी भर्न सुरु गरी त्यस क्रममा जटिल समस्या नआए ७ देखि ९ दिनभित्र परीक्षण सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ।
यसअनुसार सिभिल र हाइड्रोमेकानिकल संरचनामा पानी परीक्षण सफल भएपछि मुख्य सुरुङ र पेनस्टकमा जम्मा भएको पानीले भूमिगत विद्युत्गृहमा जडान गरिएका ६/६ वटा टर्वाइन र जेनेरेटरको क्रमैसँग परीक्षण र कमिसनिङ कार्य प्रारम्भ हुनेछ। त्यस क्रममा पहिलो युनिटबाट वैशाखभित्र विद्युत् उत्पादन सुरु हुने विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए।
आयोजनामा ७६/७६ मेगावाटका ६ वटा युनिट छन्। पहिला पहिलो युनिटबाट र त्यसपछि बाँकीबाट क्रमशः विद्युत् उत्पादन हुनेछ। अहिले माथिल्लो ठाडो सुरुङ र तल्लो ठाडो सुरुङको बीच भागमा पेनस्टक पाइप जडानको काम अन्तिम चरणमा भइरहेको छ। पाइपको ज्वाइन्टमा वेल्डिङ र पेन्टिङको काम वैशाखभित्र सम्पन्न गर्ने प्रतिबद्धता लट २ हाइड्रोमेकानिकल ठेकेदार कम्पनीले जनाएको छ।
हाइड्रोमेकानिकलतर्फ केही गेट र पेनस्टक पाइपसँग सम्बन्धित केही कंक्रिटिङको काम मात्रै बाँकी छ। बाँकी काम सम्पन्न गरी वैशाख दोस्रो हप्तादेखि पेनस्टक र मुख्य सुरुङमा पानी हाल्ने गरी काम भइरहेको हो। त्यसपछि पेनस्टक, मुख्य सुरुङ, सर्ज स्याफ्ट, सर्ज सुरुङ, पेनस्टक पाइपजस्ता संवेदनशील संरचना तथा गेट, म्यानहोल र भल्भको प्राविधिक परीक्षण गर्ने लक्ष्य छ।
मुख्य निर्माणअन्तर्गत बाँध/इन्टेक, मुख्य सुरुङ, विद्युत्गृह, टेलरेस सुरुङलगायत सिभिल संरचना निर्माण भइसकेको छ। जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेकलगायत सिभिल संरचना र त्यहाँ जडान गरिएका गेट, स्टपलगजस्ता हाइड्रोमेकानिकल उपकरणको प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ। अन्नपूर्ण पाेस्ट दैनिकबाट