मन्त्रालयको काम हाेटल भित्र, काम गोप्यताका लागि गरिएको कर्मचारीकाे भनाई

रिपोर्ट नेपाल | 2019 Jul 17 | 06:59 am 50

धनुषा, साउन १:   प्रदेश २ को मन्त्रालयहरुको काम जनकपुरधामको एक होटेलमा बसेर भइरहेको सार्वजनिक भएको छ । मन्त्रालयमा काम गर्दा गोप्यता नहुने भएकाले यसो गरिएको कर्मचारीहरुले बताएका छन् ।

उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयले कमिसनको भरमा उपभोक्ता समितिमार्फत भएका कामको मूल्यांकन होेटेलमै बसेर गरेको छ । आर्थिक मसान्तको अन्तिम दिन जनकपुरधामको शिव चोक स्थित सिटीस्टार होटलमा मन्त्रालयका कर्मचारी, उपभोक्ता समितिका पदाधिकारी र प्रदेशसभा सदस्यको उपस्थितिमा उक्त मूल्यांकन भएको बताइएको छ ।

सिटीस्टार होटेलको कोठा नम्बर २०५ र २०८ मा मंगलबार मन्त्रालयका कर्मचारी पर्यटन पूर्वाधारका विभिन्न योजना मूल्यांकन गर्न व्यस्त देखिन्थे। जहाँ कोठाभित्रै ल्यापटप र प्रिन्टर राखेर योजनाको फाइल हेर्दै मूल्यांकनको काम भइरहेको थियो । मन्त्रालयको नामबाटै बुक भएको होटेलेको कोठामा योजना मूल्यांकन गराउनकै लागि प्रदेश सांसद रानी शर्मा तिवारी लगायत जम्मा भएका थिए ।

ल्यापटपमा योजनाको मूल्यांकनको काम गरिरहेका मन्त्रालयका कर्मचारी र आफूलाई कार्यालय सहयोगी बताउने उमेश रायले मूल्यांकनको जिम्मा आफूलाई दिएको बताए।

होटेलको कोठामा भइरहेको योजना मूल्यांकनको कामबारे थाहा पाएर संचारकर्मी पुगेपछि कर्मचारी अक्क न बक्क भए । संचारकर्मीलाई देख्ने वित्तिकै उनीहरुले फाइल, प्रिन्टर र ल्यापटप बोकेर हिँडे । आजकाे राजधानी दैनिकबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.