मनाङमा निर्वाचनको तयारी शुरु

रिपोर्ट नेपाल | 2021 Jan 21 | 09:32 am 421

मनाङ, माघ ८ः देशमा संसद् विघटनसँगै चुनावी मिति घोषणसमेत भएको छ । आगामी वैशाखमा हुने निर्वाचनका लागि मनाङमा निर्वाचन केन्द्र निर्धारण गरिएको हो । संसद् विघटनको मुद्दा अदालतमा विचाराधीन भए तापनि मुलुकभर निर्वाचनको तयारी भने भइरहेको छ ।

हिमालपारिको जिल्ला मनाङमा आसन्न निर्वाचनको तयारी शुरु भएको छ । चारवटा गाउँपालिका रहेको यस जिल्लामा आगामी निर्वाचनका लागि मतदान केन्द्र निर्धारण गर्ने काम भएको हो । मतदान केन्द्र निर्धाण समितिको बैठकले जिल्लाभर २८ वटा मतदान केन्द्र निर्धारण गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।

उनका अनुसार चामे गाउँपालिकामा पाँचवटा मतदान केन्द्र रहने छ भने त्यस्तैगरी नासों गाउँपालिकामा नौ, मनाङ ङिस्याङ गाउँपालिकामा नौ र नार्पाभूमि गाउँपालिका पाँचवटा मतदान केन्द्र रहनेछ । जिल्लाभर चार गाउँपालिकामा जम्मा २८ वडा रहेका छन् ।

जिल्लाको २०६८ सालको जनगणनाअनुसार कुल जनसंख्या ६ हजार १ सय ४७ जना रहेका छन् । गत निर्वाचनमा जम्मा ५ हजार ८ सय ८१ मतदाताबाट प्रतिनिधिसभामा ४ हजार ३ सय ३५ मत खसेको थियो । त्यस्तै प्रदेशसभामा ४ हजार ३ सय ३८ मत खसेको जिल्ला निर्वाचन कार्यालय चामे मनाङले जनाएको छ ।

सो निर्वाचनमा प्रतिनिधिसभामा १६ मत बदर भएको थियो भने प्रदेशसभामा १४ मत बदर भएको जिल्ला निर्वाचनले जनाएको छ । जिल्ला निर्वाचनका अनुसार प्रत्येक वडामा सबैलाई पायक पर्ने स्थानमा मतदान केन्द्र निर्धारण गरिएको जनाएको छ । हाल पछिल्लो मतदाता नामावली आइनसकेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.