भोटेकोशीबाट असोजभित्रै ४५ मेगावाटको विद्युत् उत्पादन हुने

रिपोर्ट नेपाल | 2019 Oct 15 | 07:02 pm 62

मेलम्ची, २८ असोज : जुरे पहिरोबाट क्षति पुगेको भोटेकोशी जलविद्युत् आयोजनाको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । पहिरोबाट विद्युत् प्रसारण लाइनको केही टावर क्षतिग्रस्त भएपछि छ महीना विद्युत् उत्पादन पूर्णरुपमा बन्द भएको ४५ मेगावाटको यस आयोजनाको पुनःनिर्माणको जिम्मा चिनियाँ सिनो हाइड्रोले पाएको थियो ।

आयोजनाले अहिले करीब ८५ प्रतिशत काम सम्पन्न गरेको आयोजनाका महाप्रबन्धक विक्रमरत्न स्थापितले जानकारी दिए । जुरे पहिरोमा विद्युत् प्रसारण लाइनको केही टावर क्षतिग्रस्त भएपछि छ महीना विद्युत् उत्पादन पूर्णरूपमा बन्द भएको थियो ।

आयोजनाले टावर मर्मत गरेपछि विद्युत् उत्पादन शुरु भएपनि विसं २०७२ को भूकम्पमा आयोजनामा पुनः क्षति पुगेको थियो । भूकम्पमा क्षति भएको आयोजना पुनःनिर्माण शुरु हुँदै गर्दा भोटेकोशीको बाढीले आयोजनामा धैरै क्षति पु¥याएको थियो ।

आयोजनाको अहिले हेडबक्सका काम सकिएको र पानी भर्ने काम भइरहेको स्थापितले जानकारी दिए । “हामी अहिले हेडबक्सको परीक्षणमा छौँ’’, स्थापितले भने, “विद्युत् गृह परीक्षणको प्रक्रियामा छौँ ।’’

असोजभित्र पुनःनिर्माण सकेर कात्तिक पहिलो सातादेखि विद्युत् उत्पादन शुरु गर्ने तयारी भइरहेको स्थापितले जानकारी दिए । शुरुमा पहिलो युनिट परीक्षण गर्ने र त्यसपछि अरु युनिट पनि चलाउने तयारी भइरहेको आयोजनाले जानकारी दिएको छ ।

साढे चार वर्षदेखि विद्युत् आयोजना अवरुद्ध हुँदा अर्बौं क्षति भएको आयोजनाले जानकारी दिएको छ । आयोजना पुनःनिर्माणका लागि सात अर्ब रुपैयाँ खर्च हुने महाप्रबन्धक स्थापितले जानकारी दिनुभयो । यो रकम नयाँ आयोजना निर्माण गर्दा लाग्ने खर्च जत्तिकै भयो, महाप्रबन्धक स्थापितले भने, “क्षति धेरै भयो, लागत पनि बढ्यो ।”

आयोजनाको हेडबक्स, सुरुङ र पेनस्टक पाइपमा समेत क्षति पुगेको थियो भने इलेक्ट्रोनिक्सको पनि सबै सामग्री फेर्नु परेको आयोजनाले जानकारी दिएको छ । भूकम्पमा अन्य संरचनामा मात्रै क्षति भए पनि बाढीले भने बाँध र बालुवा थेग्राउने पर्खाल ध्वस्त बनाएको आयोजनाले जानकारी दिएको छ ।

आयोजना बन्द हुँदा कति क्षति भयो त्यो अहिले भन्न नमिले पनि भूकम्पले मात्रै रु तीन अर्ब बढी क्षति भएको आयोजनाका महाप्रबन्धक स्थापितले बताउनुभयो । आयोजनाले शुरुमा ३६ मेगावाट मात्रै विद्युत् उत्पादन गरे पनि सन् २०११ मा विद्युत् खरीद सम्झौतापछि ४५ मेगावट क्षमतामा गएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.