भेरी–बबई डाइभर्सन आयोजनाकाे दोस्रो चरणको काम सुरु

रिपोर्ट नेपाल | 2019 Sep 26 | 08:08 am 79

सुर्खेत, असाेज ९: राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन बहुउद्देश्यीयकाे दोस्रो चरणको काम सुरु भएको छ । चिनियाँ कम्पनी ग्वाङ्डङ युनाटियन र नेपालको रमण निर्माण जेभीले दोस्रो चरणको पूर्वाधार विकासको काम सुरु गरेका छन् । कम्पनी र आयोजनाबीच यही साउन १३ गते सिभिल निर्माणको काम अघि बढाउने सम्झौता भएको थियो ।

निर्माण कम्पनीले आयोजना क्षेत्रमा रुख कटान, डिजाइन सर्भेलगायतका काम थालिसकेको जनाएको छ । पहिलो चरणमा टनेल बोरिङ मेसिन (टिबिएम) को सहायताले सुरुङ निर्माण गरिसकेको आयोजनाले दोस्रो चरणमा ६ गेजको ब्यारेज, सर्ज स्याफ्ट, विद्युत् गृहलगायतका संरचना निर्माण गर्दै छ । यी संरचना निर्माणका लागि ६ अर्ब १६ करोड ५२ लाख रुपैयाँ बजेट खर्च हुने देखिएकाे छ ।

आयोजना प्रमुख सञ्जिव बरालका अनुसार दशैँ अगावै जग्गा अधिग्रहण तथा मुआब्जा वितरणको काम सुरु गर्ने गरी आवश्यक तयारी भइरहेको बताए । दशैँ अघि नै मुआब्जा वितरण गर्ने प्रयासमा छौंँ, मुआब्जा निर्धारण भइसकेको छ, थप बजेट निकासा हुन बित्तिकै मुआब्जा वितरणको काम थाल्छौँ । उनले भने ।

जिल्ला मुआब्जा निर्धारण समितिले प्रतिरोपनी १० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरिसकेको छ । आयोजनाले बाँध निर्माणस्थल सुर्खेतको भेरीगङ्गा, गुर्भाकोट र लेकबेंसी नगरपालिकामा पर्ने १६ हेक्टर जग्गा अधिग्रहणका साथै एक सय घरपरिवारलाई मुआब्जा दिने तयारी गरेको छ । स्थानीय बासिन्दाले भने मुआब्जा रकम चल्तीको मूल्यभन्दा निकै कम तोकेको भन्दै सच्याउन अनुरोध गरेका छन् ।

आयोजना प्रमुख बरालले ४८ महीनाभित्र दोस्रो चरणको काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरिएको बताए । उनका अनुसार प्रभावित क्षेत्रका बासिन्दाको सामाजिक आर्थिक विकासका लागि भेरी र बबई करिडोरमा सिँचाइ, तटबन्धलगायतका विभिन्न योजनाहरु सञ्चालन भइरहेका छन् ।

भेरीगङ्गा नगरपालिका–५ चिप्लेमा १४ मिटर अग्लो बाँध बनाई १२ किमी २१० मिटर लामो सुरुङमार्फत भेरीगङ्गाकै वडा नं ११ हात्तीखालस्थित बबई किनारमा भेरीको पानी खसालिँदै छ । जहाँ जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालयको ‘जनताको जलविद्युत् आयोजना’ कार्यक्रमअन्तर्गत ४८ मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ ।

भेरीबाट प्रतिसेकेन्ड ४० घनमिटर पानी बबईमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादन गर्नुका साथै बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने आयोजनाको लक्ष्य छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.