भित्तरगौँडा भीर छिचोलेर सडक

रिपोर्ट नेपाल | 2022 Apr 16 | 07:32 am 225

हुम्ला, वैशाख ३ः पर्यटकीय क्षेत्र खार्पुदेखि ताखुलेक सडकको भित्तरगौडा सडकखण्डको भीर छिचोल्ने काम पूरा भएको छ । लगातार दुुई महिना विस्फोट र निर्माणको काम एकैसाथ गरी सो भीर छिचोलिएको हो ।

पूर्वाधार विकास कार्यालयका प्रमुख देवी ऐडीले लगातार विस्फोट गरेर दुुई महिनापछि भीर छिचोलेर गाडी गुडाउन सफल भएको बताए । दुई सय मिटर लामो उक्त सडकखण्डमा सेनाको समन्वयमा विस्फोट गर्ने र स्काभेटरबाट निर्माण गर्ने काम एकसाथ अगाडि बढाइएको थियो । उनले करिब ४० मिटर अग्लो चट्टानलाई विस्फोट गरी स्काभेटरबाट काटरेर भीरमा सडक निर्माण गर्न सफल भएको जानकारी दिए ।

उनले कुल ७.३२ किमि सडकखण्डमध्ये चार सय मिटर कडा चट्टान रहेकामा एउटा चट्टानी भागको निर्माण कार्य पूरा भएको र अब अर्को भीर बाँकी रहेकाले त्यो पनि छिटै निर्माण सुरु हुने बताए । सडक निर्माणका लागि सम्झौता भएको १५ महिनापछि चट्टान विस्फोट सुरु भएको बताए । सेनाको अनुमतिमा विस्फोटक पदार्थ खरिद प्रक्रियामा जाँदा समय लागेकाले निर्माणमा ढिलाइ भएको जनाइएको छ । ताकुलेक सडकको खार्पुदेखि ग्याग्रुसम्म सडक निर्माणका लागि ०७६ साल भदौ ५ गते स्वच्छन्द निर्माण कम्पनीसँग सम्झौता गरेको थियो ।

उनले विस्फोटक पदार्थ खरिदका लागि सेनासँग लामो प्रक्रिया लागेका कारण चट्टानी भीरको निर्माण कार्य ढिलो भएको बताए।

सोही सडकखण्डको चट्टानी क्षेत्रबाहेक अन्य क्षेत्रको सडक भने गत वर्ष नै निर्माण सम्पन्न भइसकेको थियो । कार्यालयलाई विस्फोटक पदार्थ प्राप्त हुने बित्तिकै निर्माण कम्पनीलाई जिम्मा लगाएर सेनाकै उपस्थितिमा विस्फोट गर्ने काम सुरु भएको जनाइएको छ ।

छोटो समयमा निर्माण सम्पन्न गर्नुपर्ने सो सडक आवश्यक विस्फोटक पदार्थ नभएकै कारण निर्माणमा ढिलाइ भएको थियो । सडक निर्माणका लागि चार करोड ६५ लाख नौ हजार रुपियाँमा निर्माण कम्पनीसँग कार्यालयले सम्झौता गरेको थियो ।

यसअघि सो कार्यालयले सोही सडकखण्डको ग्यागु्रदेखि दोजाम गाउँसम्म सडक निर्माण सम्पन्न गरिसकेको छ । अब दोजामबाट ताकुुलेकसम्मको भागमा सडक निर्माण गर्न भने बाँकी छ । सडक निर्माणपछि चुवाखोला क्षेत्रको पर्यटन प्रवर्द्धन र जडीबुटीको सहज निकासीमा सहयोग पुग्ने विश्वास गरिएको छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.