भरुवा बन्दुकको छर्रा लागेर बाग्लुङमा एकको मृत्यु

| 2020 Jan 10 | 04:07 pm 192

बागलुङ, पुस २५ः जिल्लाको तमानखोलामा आफ्नै भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हनेमा तमानखोला गाउँपालिका–१ बोङ्गादोभानका ४७ वर्षीय ओमबहादुर घर्ती रहेका छन् ।

भरुवा बन्दुकको छर्राले लागेर गम्भीर घाइते भएका घर्तीलाई उपचारका लागि अञ्चल अस्पताल बागलुङ अस्पताल पुर्‍याउँदा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

जङ्गलमा बाँदर लखेट्न भन्दै भरुवा बन्दुक बोकेर निस्केका घर्ती बिहीबार दिउँसो २ बजे बन्दुक पड्केर छर्राले लाग्दा घाइते भएको स्थानीयवासीले बताएका छन् ।

उनको बायाँ हात, खुट्टा र पिडौँलामा चोट लागेको थियो । घटनालगत्तै स्थानीयवासीले घर्तीलाई उपचारका लागि सदरमुकाम ल्याउँदा बिहीबार राति अञ्चल अस्पतालले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईले बताए ।

घर्तीले प्रयोग गरेको भरुवा बन्दुक दर्ता भए नभएको विषयमा समेत प्रहरीले अनुसन्धान थालेको छ ।

बाँदर लखेट्न भनिए पनि घटना घट्नुको कारणका विषयमा पनि अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

मृतक घर्तीको शव अञ्चल अस्पतालमा राखिएको छ । आवश्यक अनुसन्धान र परीक्षणपछि शवलाई परिवारको जिम्मा लगाइने भट्टराईले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.