भारतीय विदेशमन्त्री जयशंकर प्रचण्डसँग भेट नगरी स्वदेश फर्किए

| 2019 Aug 22 | 04:28 pm 82

काठमाडौं,भदौ ५ :  सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग  नेपालको २ दिने भ्रमणमा आएका भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट्न नगरी स्वदेश फर्किएका छन् ।

प्रचण्डले प्रोटोकल नमिल्ने भन्दै जयशंकरलाई निवासमै भेट्न बोलाए । तर जयशंकर प्रचण्ड भेट्न उनको निवास खुमलटार नगई स्वदेश फर्किएका हुन् ।

पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र डा. बाबुराम भट्टराईले भने जयशंकरलाई होटलमै गएर भेटेका छन् । जयशंकरले देउवासँग १२ बजे र भट्टराईसँग १ बजे होटलमै भेट गरेका हुन् ।

नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन् जयशंकर बुधबार नेपाल आएका हुन् । उनले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरे । जयशंकर राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए भने प्रधानमन्त्रीलाई भेट्न बुधबार नै बालुवाटार पुगेका थिए ।

प्रचण्डसँगै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललेसमेत जयशंकरसँग होटलमा गएर भेट गरेनन् । उनलेसमेत जयशंकरलाई भेट गर्न निवासमै बोलाएका थिए ।

भारतीय दूतावासले भने एउटै पार्टीका नेतासँग एक्लाएक्लै भेट गर्ने नीति नै नभएको बताएको छ । नेकपा अध्यक्ष एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरिसकेपछि पार्टीका अन्य नेतासँग भेट नभएको दूतावास स्रोतको भनाइ छ ।

दूतावासका अनुसार पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पार्टीको समूहमै होटल पुगेपछि भेटवार्ता भएको हो । प्रचण्ड र पूर्वप्रधानमन्त्री नेपालसँग छुट्टै भेट्ने कार्यक्रम नै नभएको दूतावास स्रोतको दाबी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.