भारतीय तीर्थयात्री बोकेको बसलाई ट्रकले ठक्कर दिँदा दुईजनाकाे मृत्यु, २१ घाइते

रिपोर्ट नेपाल | 2019 Jun 11 | 10:56 am 45

रौतहट, जेठ २८:  चन्द्रपुर नगरपालिका १ मंगलपुरस्थित पूर्वपश्चिम राजमार्गमा मंगलबार बिहान भारतीय तीर्थयात्री बोकेको बसलाई ट्रकले ठक्कर दिँदा दुईजना भारतीय नागरिकको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको ना ६ ख ९०३० नम्बरको तीर्थयात्री सवार बस मंगलपुर नजिक रोकेर राखेको अवस्थामा सोही दिशाबाट आएको को १ ख २६२५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो ।

यात्रुहरूलाई शौच गराउने क्रममा ट्रकले पछाडिबाट बसलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी भारतका तीर्थयात्री सज्यकान्ति प्रधान, मञ्जु विष्डा, सुन्दरि वस्तिया, शौरी विहारा लगायतका घाइते छन् । विहाराको हात भाँचिएको छ भने सर्वेश्वर जेना र शेषादेव जेनाको शरीरका विभिन्न भागमा चोट लागेकाले थप उपचारको लागि वीरगञ्ज रिफर गरिएको छ ।

अन्य घाइतेको चन्द्रपुर र एपोलो अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा बस चालक झापा मेची नगरपालिका–१० का दुर्गाप्रसाद पौडेलको छातीमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

दुर्घटना लगत्तै फरार ट्रकचालक सुनसरी दुहवी–८ का रमेशकुमार चौधरीलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख, डिएसपी कवित कटुवालले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.