भारतले आफ्नै बुद्धीले होकी कसैको उक्साहटमा नेपालसँग निहुँ खोज्दैछ ?

| 2020 Jun 05 | 05:22 pm 2078

(गतांकको बाँकी)

  • बसन्त भुजेल

नेपाल सँग असल छिमेकीका रुपमा मित्रता कायम राख्नु बाहेक सरसरर्ती हेर्दा भारत सँग अर्को विकल्प देखिँदैन । तर छिमेकी मित्रराष्ट्र भारत नेपाल सँग द्धन्द गर्दैछ । यो द्धन्द के का लागि ? भन्ने प्रश्न निकै पेचिलो बनेको छ । नेपाल सँग असल मित्रता कायम राखेर अघि बढ्ना साथ भारतले महाशाक्ति राष्ट्र बन्न धेरै वर्ष पर्खनु पर्दैन, तर नोपल सँगको द्धन्दले भारतलाई झन झन कंगाल बनाउँदै लैजान्छ । यो नांगो आँखाले देखिने तथ्य हो । तर पनि भारतले नेपाललाई किन चिढ्याइ रहेको छ ? कतै महाशाक्ति राष्ट्र अमेरिका तथा महाशाक्ति उन्मुख राष्ट्र चीनले भारतको व्युरोक्रेसीमा घुस पैठ गरेर छिमेकीसँग द्धन्द गर्न उक्साइरहेका त छैनन् ? छिमेकी सँगको द्धन्दमा भारतलाई फँसाउने चालवाजी शक्ति राष्ट्रहरुले गरिरहेका पो छन् कि ? भन्ने तर्फ भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सचेत रहेको देखिएन । हुन पनि एउटा छिमेकी मुलुक सँग पनि भारतको संवन्ध राम्रो छैन । छिमेकी मुलुक सँग खराव संवन्ध भएको देखिए जुन सुकै बेलामा पनि धरापमा पर्न सक्छ ।

भारतका छिमेकी मुलुकहरु आधा दर्जन भन्दा बढी छन्, तर यी आधा दर्जन मध्ये नेपालको अवस्थिति विशेष छ । पूर्व पश्चिम र दक्षिण तर्फ भारतले घेरिएको छ । सीमाना खुला छ । नागरिक स्तरमा रोटीबेटीको सम्बन्ध छ । भाषा तथा धर्म संस्कृति एउटै हो । त्यसैले नेपालीहरु चिढिनु भनेको भारतका लागि मुटुमा पिलो आउनु जस्तै हो । पाकिस्तान र चीन सँगको सीमा सुरक्षा नेपालीहरुले नै गरिदिएका छन् । यसैगरी नेपालको भूगोल आफैमा चीन सँगको सीमा रक्षक हो । यो कुरा जवाहरलाल नेहरुले पटक पटक व्याख्या गरेका थिए । उनको भनाई थियो –‘नेपाल सँग असल सम्वन्ध विकास गर्ने हो भने चीनबाट भारतलाई कुनै सैन्य खतरा छैन, नेपालले नै रक्षा कवचको रुपमा भूमिका खेल्न सक्छ । तर भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले यो कुरा बुझन सकेको देखिएन ।

नेपालमा अपार जलस्रोतको भण्डार छ । बहुमुल्य खानी तथा जडिबुटीहरु छन् । जाँगरिला जनता छन् । लुम्विनी, सगरमाथा, जनकपुर जस्ता विश्व सम्पदा छन् । त्यही कारण भारत लोभिएको छ । नेपाललाई सिक्किम बनाउन सके यहाँका सम्पूर्ण स्रोतहरु उपयोग गरेर महाशाक्ति बन्न सकिने ठम्याई भारतीय व्युरोक्रेसीको छ । तर नेपाललाई सिक्किम बनाउन सम्भव छ त ? किर्मार्थ छैन । ५ लाख जनसंख्या भएको सानो भूभाग हो सिक्किम, जसको इतिहास पनि नयाँ थिएन । निरंकुश राजतन्त्रले थिलो थिलो बनाएकोले जनता आजित थिए । नेपालको परिवेश बेग्लैछ । जुन बेला भारत भन्ने देश नै थिएन , त्यो बेला पनि नेपाल विश्वको गौरवशाली राष्ट्रका रुपमा रहेको थियो । भारतलाई अंग्रेजको पंजाबाट मुक्त गर्न नेपालीहरुले ठूलो भूमिका निर्वाह गरेका छन् । चीन र भारतको तुलनामा सानो भए पनि विश्वका अरु धेरै राष्ट्रहरुसँग तुलना गर्दा नेपाल भूगोलमा पनि सानो छैन । नेपाल भन्दा सानो भूगोल भएका देशहरु विश्वमा एक सय भन्दा बढी छन् । जनसंख्याको हिसावमा त नेपाल विश्वका ३० –३२ देशहरुको सूचिमा पर्छ । यसैगरी विश्वमा शान्ति कायम गराउनका लागि नेपाली राष्ट्रिय सेनाको महत्वपूर्ण भूमिका रहेको छ । संयुक्त राष्ट्र संघले सबै भन्दा भरपर्दो सेनाका रुपमा नेपाली राष्ट्रिय सेनालाई लिएको छ । यसैगरी विश्वका कयौं देशले आफ्नो सेना तथा प्रहरीमा नेपालीहरुलाई प्राथमिकता दिएका छन् ।

नेपालको कुटनीतिक सम्वन्ध पनि संसारका धेरै देशमा विस्तार भइसकेको छ । उत्तर तर्फको छिमेकी मुलुक चीनले नेपाललाई महत्वपूर्ण छिमेकी देशको सूचिमा राखेको छ भने विश्वको महाशक्ति राष्ट्र अमेरिकाले नेपालको सम्वन्धलाई ठूलो प्राथमिकतामा राखेको छ । अमेरिकाले भारत र चीनका दूताबासमा जति जनशक्ति राखेको छ त्यो भन्दा दोब्बर जनशक्ति नेपाल स्थित दूतावासमा राखेको छ । यसै गरी अमेरिकाले चीन र भारतमा भन्दा उच्च हैसियतको कुटनीतिज्ञलाई नेपालमा राजदूत बनाउँदै आएको छ । त्यसैले नेपाललाई खान सक्छु, निल्न सक्छु भन्ने सोचाई छिमेकी राष्ट्र भारतका लागि अभिसाप हो, अर्थात पतनको बाटो हो । आफू पतन हुने बाटो भारतले नरोजोस् । विगतमा सोभयित संघको पतन किन र कसरी भएको थियो ? भन्ने हेक्का भारतले राख्नै पर्छ । सोभियत संघ महाशक्ति राष्ट्र बनिसकेको थियो । अमेरिकालाई उछिन्न थोरै मात्रै बाँकी थियो, तर उसले विस्तारबाद र प्रभूत्ववादका लागि ठूलो धनराशी खर्च गर्न थाल्यो । जसलाई निरन्तरता दिने क्रममा सोभियत संघ कंगाल बन्यो । त्यस पछि १४ टुक्रामा विभाजित भयो ।

भारत पनि यतिबेला त्यही दिशामा त छैन ? उदाहरणका लागि कश्मीरी जनताको विशेष अधिकार खोसेको एक वर्ष पनि पुगेको छैन । यो अवधीमा भारतको रक्षा बजेट २५ प्रतिशतले बढेको छ । त्यो बजेट धान्ने क्रममा भारतको आर्थिक वृद्धिदर ७ प्रतिशतबाट घटेर पाँच प्रतिशतमा झरेको छ । करिव २० लाख सेना कश्मिरमा तैनाथ छन् । कति वर्षसम्म कश्मिरलाई सेनाको माध्यमद्धारा नियन्त्रण गरिरहनु पर्ने हो ? त्यसको टुंगो छैन । नेपालको त कस्मीरसँग तुलना हुनै सक्दैन । नेपाललार्इृ सैन्य नियन्त्रणमा लिनका लागि त भारतको कुल बजेटले समेत थेग्दैन । यस्तो दुस्साहश मोदीले गरे भने दक्षिणी भारतका राज्यहरुमा स्वतन्त्रताको लडाँइ सुरु हुन्छ । उनीहरुले मौका हेरेर बसिरहेका छन् । पञ्जाव, आसाम लगायत आधा दर्जन राज्यहरुमा पृथकताबादको प्रयास भुसको आगो जसरी फैलिएको छ । यदी भारतीय सेनामा गोर्खाली नहुँदा हुन् त यी राज्यहरु उहिल्यै टुक्रिसकेका हुन्थे । बेलायतीहरुले भारत छाडेर जाने क्रममा गोर्खाली सेनालाई निरन्तरता दिनका लागि जवाहरलाल नेहरुलाई करिव १५ दिनसम्म क्लास लिएका थिए । तर यो यर्थाथता वर्तमान प्रधानमन्त्री मोदीले बुझेको जस्तो देखिएन ।

पैसा र पावरको घमण्डका कारण कस्तो हविगत उत्पन्न हुन्छ ? भन्ने कुरा विगतमा धेरै देशहरुमा देखिएको पनि छ । जर्मनीका हिट्लर, इराकका सद्धाम हुसैन, इरानका सुलेमानबाट भारतका प्रधानमन्त्री मोदीले पाठ सिक्नु पर्छ । विस्तारबादी आनन्द क्षणिक हो । दीगो विकास र आर्थिक सन्तुलनको पाठ भारत जस्तो महाशक्ति उन्मुख देशले सिक्नु जरुरी छ । यो पाठ चीनबाट सिकोस् ।

अहिले आएको कोरोनाको समस्या त एउटा सानो नमुना मात्रै हो । यो भन्दा ठूलो विनास ल्याउने धेरै खतरनाक हातहतियार विनिसकेका छन् । त्यो हो । एनबिसि ( न्युक्यिर बाइलोजिकल केमिकल ) । यो भण्डार कुनै कारणबस विष्फोट भयो भने विश्व नै ध्वस्त हुनसक्छ । मानव जातीको अस्तित्व नै खतम हुनसक्छ । त्यतिबेला धन , पैसा र पावरले केही पनि लर्छादैन ।

(भुजेल गाेर्खा ब्रिटिस सेनाका अवकाश प्राप्त इन्जिनियर हुन्)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.