भटाभट सुक्दै मुहान, पानी लिन घण्टौंको बाटो

रिपोर्ट नेपाल | 2021 Sep 26 | 08:00 am 189

काभ्रे, असाेज १०ः पाँचखाल नगरपालिका–९ भेटवालथोकमा २० वर्षअघि विवाह गरेर आएकी थिइन् सीता मिजार। त्यसको भोलिपल्ट बिहानै सासूले घरमाथि रहेको पँधेरामा पानी लिन पठाइन्। तर, उनी रित्तो गाग्री लिएर फर्किइन्। भन्छिन्, ‘पानीको मूल डरलाग्दो थियो। छङछङ आवाजले डर लाग्यो अनि फर्किएँ। नयाँ दुलही भएकीले सासूले गाली गर्नुभएन।’

त्यसको १० वर्षपछि मुहान सुक्यो। जहाँ अहिले कमिला हिँड्छ। ४५ वर्षीया मिजार अहिले पानीको चरम अभाव खेपिरहेकी छन्।

अर्की स्थानीयवासी ३५ वर्षीया रामप्यारी विसुंखे जंगलछेउ ८–१० वर्ष पहिलेसम्म देखेका मुहान सुकेर काकाकुल भएको सुनाउँछिन्। आकाशे पानीका भरमा बर्खामा एकपटक मात्रै बाली लगाउने गरेको विसुंखे बताउँछिन्। भन्छिन्, ‘माइती जाँदा जति खुसी लाग्छ, पानी पर्दा त्यस्तै हुन्छ।’ उनका अनुसार गाउँका सबैले आकाशे पानी संकलन गरेर राख्ने गर्दै आएका छन्।

पानीको मुहान सुक्दा भुक्तमान बेहोर्ने प्रतिनिधिपात्र हुन् यी। काभ्रेकै दाप्चा क्षेत्रमा १ सय ७४ मुहानमध्ये ३० प्रतिशत सुकिसकेको भेटिएको अध्ययनकर्ता सुष्मा तिवारी बताउँछिन्। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)सँगको समन्वयमा नेपाल पानी सदुपयोग फाउन्डेसनले सन् २०१६ मा दाप्चा र तीनपिप्लेमा वर्षा, भूमिगत जलको पुनर्भरण तथा मूलमा पानीको विषयमा अध्ययन गरेको थियो।

उही संस्थाले २०२० देखि गरिरहेको सर्वेक्षणको प्रारम्भिक तथ्यांकले जलवायु परिवर्तनका कारण ४५ प्रतिशत मुहान मासिएको देखाएको अर्की अध्ययनकर्ता भूमिका थापाको भनाइ छ। उक्त सर्वेक्षणमा ३ सयभन्दा धेरै स्थानीय तहका जनप्रतिनिधि सहभागी भएका छन्। जसमध्ये ७४ प्रतिशत सहभागीले ४५ प्रतिशत मुहान सुक्नुमा जलवायु परिवर्तनको असरलाई कारक देखाएका हुन्। ‘पहिलो कारणमा सडक निर्माण (५१ प्रतिशत) देखिएको छ’, थापा भन्छिन्, ‘बाँकी अन्य छन्।’

थापाका अनुसार पानीका स्रोतभन्दा जनप्रतिनिधिका जवाफका आधारमा प्रारम्भिक तथ्यांक निकालिएको हो। सर्वेक्षणमा हिमाली, पहाडी र चुरे क्षेत्रलाई समेटिएको छ। तराई÷मधेसमा ‘भूमिगत’ स्रोत उपयोग गर्ने भएकाले समावेश गरिएको छैन।

इसिमोड र फाउन्डेसनले नै मुहान पुनःस्थापना गर्न पाइलट प्रोजेक्ट सञ्चालन गरेका थिए। संरक्षण गर्न सकिने सम्भावना भएको दाप्चा क्षेत्रका पोखरीमा पुनर्भरणको कामपछि कुवाहरूमा पानी आउन थालेको थापाको भनाइ छ।

पानीको समस्याकै कारण सात प्रतिशत स्थानीयवासी बसाइँ हिँडेका छन्। यसले जलवायु परिवर्तनको असर कति भयावय छ भन्ने देखाएको थापाको भनाइ छ। भन्छिन्, ‘सरेको ठाउँमा केही वर्षमा पानी सुकेपछि फेरि अर्को ठाउँमा सरेका घटना पनि छन्।’

तनहुँको मानुङकोट टिकटक डाँडामा ०३२ सालतिर ६०–६५ घर बसोबास गर्थे। त्यहाँ अहिले सात घर मात्रै बाँकी छन्। उक्त ठाउँ पर्यटकको आकर्षणको केन्द्र बनेको छ। कोरोना महामारीकै बेला त्यहाँ १० हजार पर्यटक पुगेका जनाइएको छ। यस्तै, भोजपुरको रामप्रसाद राई, धनकुटाका सहिदभूमि र महालक्ष्मी नगरपालिका, मुस्ताङको दालोमे, सल्यानको छत्रेश्वरी गाउँपालिकालगायत क्षेत्रमा गावैं विस्थापित भएको अध्ययनले देखाएको छ। यस्ता ठाउँलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरी लिफ्ट र बोरिङजस्ता प्रविधिबाट पानी ल्याउनुको विकल्प देखिँदैन।

वन तथा वातावरण मन्त्रालयले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनमा पहाडी क्षेत्रमा ३० वर्ष अवधिमा ३० प्रतिशतले पानीको स्रोत घटेको उल्लेख छ। ‘जलवायु संकट तथा जोखिम विश्लेषण र अनुकूलन उपायका पहिचान’ प्रतिवेदनले कुन ठाउँमा जलवायु परिवर्तनको असर कस्तो छ भनेर देखाएको छ। कुन ठाउँ जोखिमयुक्त छ ? कहाँ अनुकूलनका काम गर्न सकिन्छ ? यी विषय थाहा पाउन मन्त्रालयले दुई वर्ष लगाएर अध्ययन गरेको हो।

अध्ययनमा संलग्न रेगन सापकोटाका अनुसार मुस्ताङमा पानीको स्रोत सुकेकै कारण ध्ये समुदायका मानिस बसाइँ सरेका छन्।’ जलवायुको असरले स्थानान्तरण भएको यो पहिलो घटना भएको उनको भनाइ छ।  त्यसैगरी पाल्पाका केही ठाउँका बासिन्दा स्थानान्तरण हुनुपरेको छ। ‘जलवायुको असरले नै यस्तो परिणाम आएको हो भनेर अध्ययन भइसकेको छैन’, उनी भन्छन्, ‘तर पानीका स्रोत घट्नुमा जलवायु परिवर्तनले ठूलो भूमिका खेलेको छ।’

यही कारण सुक्खा, खडेरी, बाढीपहिरोका घटना बढ्दा २ सय १५ नगरपालिका र ८९ गाउँपालिका अत्यधिक जोखिममा छन्। ४२ गाउँपालिका मध्यम र १ सय ६२ गाउँपालिका न्यूनतम जोखिममा छन् ।  यसको असर सन् २०३० सम्ममा अझै धेरै बढ्न जानकार बताउँछन्।

नेपालको ५६ प्रतिशत क्षेत्र खडेरीको सिकार भएका छन्। हुम्ला, गोरखा, डोल्पा, मुगु, संखुवासभा, सिन्धुपाल्चोक, कैलाली, सुर्खेत, सिन्धुली, मुस्ताङ, दाङ ताप्लेजुङ, जाजरकोट, जुम्ला, बझाङलगायत जिल्लामा खडेरीको समस्या बढेको छ।

जलवायु परिवर्तनका कारण वर्षात्को शैली फेरिएको प्रतिवेदनमा उल्लेख छ। चरम घटना (एक्स्ट्रिम इभेन्ट्स)का कारण खडेरी तथा बाढीपहिरोको जोखिम उत्तिकै बढेको जनाइएको छ। मन्त्रालय र इसिमोडको प्रतिवेदनअनुसार बर्सेनि १.३ मिलिमिटर वर्षा घट्दै गएको छ।

जलवायु परिवर्तन व्यवस्थापन महाशाखाकी प्रमुख डा. राधा वाग्ले वर्षात्को शैली फेरिँदा जमिन सिंचित हुन नपाएको बताउँछिन्। एकै पटक ठूलो मात्रामा पर्ने आरीघोप्टे वर्षाका कारण जमिनले पानी सोस्न पाएको छैन। डा. वाग्ले भन्छिन्, ‘ह्वार्र आएको पानी बगेर जान्छ। त्यसले जमिन सिंचित गर्दैन।’

जल तथा मौसम विज्ञान विभागकी हावापानी विश्लेषक इन्दिरा कँडेलका अनुसार वर्षात्को शैली फेरिँदा पानीका स्रोतलाई असर गरेकै छ। तर, भूकम्पपछि जमिन हल्लिएर (वाटर कोर्स) पनि पानीको बाटो परिवर्तन भएको हुन सक्ने कँडेल बताउँछिन्। ‘भित्रभित्र ती पानी अन्त ठाउँमा निस्किएको हुन सक्छ’, उनी भन्छिन्, ‘एक ठाउँमा पानी सुकेर अन्य देखिन पनि सक्छ।’ वर्षा र तापक्रमको मात्रामा परिवर्तनका साथै बाढीपहिरो, खडेरीजस्ता अस्वाभाविक मौसमी घटनाले पानीको उपलब्धता, समयावधि र पानीजन्य विपद्का घटनामा असर पार्ने देखिन्छ। मनसुनका बेला पहाडतिर आकस्मिक बाढी तथा पहिरो गएका छन्। जलवायु परिवर्तनले विपद्को मात्रा र असर झनै बढने, मौसमी सन्तुलनमा खलल पुग्ने देखिएको छ।

नेपालमा सन् २०३० सम्ममा पानीको क्षेत्रमा हुने जोखिम बढ्दै जाने प्रतिवेदनले देखाएको छ। सन् २०५० सम्ममा अझ धेरै जोखिम बढ्ने अनुमान गरिएको छ। उच्च पहाडी र हिमाली क्षेत्रमा संकट पर्नेछ। कर्णालीमा समस्या विकराल बन्नेछ। दलित, मुस्लिम, मधेसी, आदिवासी जनजाति, महिला, बालबालिका, ज्येष्ठ नागरिक र शारीरिक अपांगता भएकाहरू बढी प्रभावित हुने जनाइएको छ। सन् १९७२ देखि २०१६ को अवधिमा १६ वटा ठूला खडेरी परेका छन्। जसकारण कृषि तथा उब्जनीमा असर गरेको छ।

त्यो दोस्रो खानेपानी आयोजना
काभ्रेको पाँचखाल नगरपालिका–९ साठीघरमा पहिलादेखि नै नजिकमा मुहान थिएन। पानी भर्न एक घण्टा दूरीको जंगलमा जानुपथ्र्यो। ७५ वर्षीया धनमाया श्रेष्ठ भन्छिन्, ‘बुहारीहरू लुरुलुरु बिहानभरि पानी ओसार्थे। बिहान ४ नबज्दै सबै जना भाँडो लगेर जान्थे।’ अर्की स्थानीयवासी ६९ वर्षीया बेलमाया श्रेष्ठ त्यसरी संयुक्त परिवारलाई पुर्‍याउनुपथ्र्यो। त्यसको बोझ महिलालाई बढी थियो।

स्थानीय प्रेम पहरीका अनुसार तत्कालीन राजा वीरेन्द्र पलाञ्चोक भगवती दर्शन गर्न आएपछि भने केही राहत मिल्यो। मन्दिर सरसफाइ नभएको देखेपछि वीरेन्द्रले राजाले पानीको स्रोत खोज्न मान्छे खटाए। २०४१ सालतिर तीन ठाउँ लिफ्टिङ गरी साठीघरमा पानी पुग्यो। नौ घरलाई एउटा सामूहिक धारा राखियो। जसलाई पलाञ्चोक भगवती खानेपानीे आयोजना भनेर चिनिन्छ।

वडाध्यक्ष किरण श्रेष्ठ त्यो देशकै दोस्रो खानेपानी आयोजना भएको सुनाउँछन्। ०६८ सालदेखि प्रत्येक घरमा धारा बनाउने भनियो। महसुल उठाउन समस्या थियो। त्यसपछि उक्त आयोजना समुदायले लियो, मासिक ३५० रुपैयाँ महसुल लिने गरी।

०७२ को भूकम्पपछि सबै मुहान सुके। पानीको हाहाकार बढ्यो। श्रेष्ठ भन्छन्, ‘१२ गतेको भूकम्पले पानी निस्किएको थियो, २९ गतेकाले पूरै सुक्यो।’

वडाध्यक्ष श्रेष्ठका अनुसार साबिक साठीघर क्षेत्रमा मात्रै १० वटा मुहान सुकिसकेका छन्। प्रत्येक टोलमा पहिला दुई–तीनवटा पोखरी थिए। ती पनि सबै सुके। बर्खामा पोखरी पुनः सिंचित हुन्थ्यो। सिमेन्ट प्रयोगले पोखरी ‘रिचार्ज’ हुन छाडेका छन्। जथाभावी सडक खनेकाले पनि मूल सुकेका उनको ठम्याई छ। ‘धारापानीमा मूलको सय मिटर तलबाट बाटो खन्यौं’, उनी भन्छन्, ‘त्यसको एक महिनामै मुहान सुक्यो।’

धारामा पानी आउन महिनासम्म कुर्नुपर्ने समस्या रहेको स्थानीयवासीको गुनासो छ। डाँडागाउँकी शान्ति पहरी पानी नियमित नआए पनि महसुल भने अनिवार्य तिर्दै आएको बताउँछिन्। भोजभतेर गर्नुपरे बनेपाबाट पानी किनेर ल्याउनुपर्ने हुन्छ। भन्छिन्, ‘किनेर ल्याएको सफा हुँदैन। सरसफाइका लागि पर्याप्त हुँदैन।’

पहरी बस्तीका ५४ वर्षीय बिलबहादुर पहरी माटोको घैला बोकी लालटिन बालेर दुई घण्टा टाढा जंगल गएको स्मरण गर्छन्। तर, ती ठाउँमा पनि अहिले पानी पाइँदैन। आठ जनाको परिवार छ उनको। परिवारमा खानपिन, सरसफाइ तथा खेतीमा समस्या झेलिरहेको उनी सुनाउँछन्। ‘पानी नहुँदा विकास पनि हुन्न रहेछ’, उनी भन्छन्, ‘पानी भइदिए यो जमिनमा के–के फलाउँथें होला।’

५४ वर्षीया कान्छी विक महसुल मात्र तिर्नुपरेको गुनासो गर्छिन्। भन्छिन्, ‘धारामा बिरलै पानी आउँछ। अन्त जाऊँ कतै पानी छैन।’ उनको गाउँमा एउटा धारो बाँकी छ। गाउँभरिका सबै जाने भएकाले पालो पाउनै मुस्किल छ।

काभ्रेमा पानीको समस्या समाधान गर्न सुनकोसी खानेपानी लिफ्टिङ आयोजना निर्माणाधीन छ। आयोजनाका इन्जिनियर अरुण ढकाल पाँचखालका १० वडाका ८० प्रतिशत व्यक्तिलाई पुर्‍याउने लक्ष्य रहेको बताउँछन्। पाँचखाल नगरपालिकाका योजना तथा प्रशासन शाखा प्रमुख कल्याण सुवेदीका अनुसार माथिल्लो भेगमा पानीका स्रोत पूरै सुकेका छन्। त्यसबाट नगरका ४० प्रतिशत मानिस प्रभावित छन्। तत्काललाई डिप बोरिङ गरेर सबै वडामा पानी पुर्‍याउने प्रयत्न भएको छ। भन्छन्, ‘हाल दैनिक गुजारा मात्रै चलिरहेको छ। २–४ वर्षमै बोरिङमा पानी नआउने समस्या बढेको छ।’  अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.