बोइङले विश्वभरका ‘७३७ म्याक्स’ मोडेलका ३७१ वटा विमान उडानमा लगायाे रोक

रिपोर्ट नेपाल | 2019 Mar 14 | 05:21 pm 40

एजेन्सी, फागुन ३० : अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्ना विश्वभरि रहेका बोइङ ७३७ म्याक्स ८ र म्याक्स ९ माेडेलका विमान ग्राउन्डेड गर्ने निर्णय गरेको छ । अब अर्को निर्णय नभएसम्मका लागि आफ्ना विश्वभरि रहेका ३७१ वटा विमानको उडान नगर्ने निर्णय बाेइङले जनाएकाे छ ।

गएको आइतबार इथियोपियन एयरलाइन्सको विमान दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा १५७ जनाको मृत्यु भएको थियो । २०१७ देखि व्यवसायिक उडान सुरु गरेको यस मोडेलको विमान पछिल्लो ५ महिनामा दुई पटक दुर्घटना भएपछि विश्वका विभिन्न देशले सो विमानको उडानमा रोक लगाउन थालेको थिए ।

गएको अक्टोबर महिनामा इन्डोनेशियामा सोही ब्रान्डको विमान दुर्घटनामा परेकोमा फेरि अहिले इथियोपियामा उस्तै शैलीमा विमान दुर्घटना भएको थियो । उक्त दुर्घटनास्थलबाट नयाँ प्रमाण भेटिएपछि बोइङले यस्तो कदम उठाएको बुझिएको छ ।

शुरुमा चीनले उडानमा रोक लगाएकोमा त्यसपछि इथियोपिया, सिंगापुर, मलेशिया, बेलायत, इन्डोनेशिया, भारत, अष्ट्रेलिया, युरेपेली संघ लगायत देशले धमाधम विमान ग्राउन्डेड गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बोइङ्गका बारेमा आपतकालीन आदेश जारी हुने घोषणा गरे लगत्तै बोइङ्गले नै सो आदेश दिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.