बैंकमा ४६ अर्ब अधिक तरलता

| 2020 May 08 | 08:42 am 52

काठमाडौं, बैशाख २६ः विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण कर्जाको माग कम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अहिले बैंकमा तरलता बढेको छ । गत ११ वैशाखदेखि बैंक तथा वित्तीय संस्थासँग अनिवार्य नगद मौज्दातबाहेक ४५ अर्ब ७८ करोड रुपैयाँ अधिक तरलता रहेको छ ।

आर्थिक वर्ष २०७६-७७ को नौ महिनासम्म केन्द्रीय बैंकले रिपोमार्फत १ खर्ब १३ अर्ब ७७ करोड र स्थायी तरलता सुविधामार्फत ७३ अर्ब ६ करोड गरी कुल १ खर्ब ८६ अर्ब ८३ करोड रुपैयाँ तरलता प्रवाह गरेको थियो । यस अवधिमा पटक–पटक गरी ५८ अर्ब रुपैयाँ तरलता प्रशोचन गरिएको छ । यस्तो प्रशोचन निक्षेप बोलकबोलमार्फत ३० अर्ब र रिभर्स रिपोमार्फत २८ अर्ब रुपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०७६-७७ को नौ महिनासम्ममा केन्द्रीय बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू)बाट अमेरिकी डलर २ अर्ब ६७ करोड खुद खरिद गरी ३ खर्ब ०५ अर्ब ८६ करोड रुपैयाँ खुद तरलता प्रवाह गरेको छ त्यसैगरी, समीक्षा अवधिमा अमेरिकी डलर ३ अर्ब ६ करोड बिक्री गरी ३ खर्ब ५० अर्ब ९ करोड रुपैयाँबराबरको भारतीय रुपैयाँ खरिद गरिएको छ ।

९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर २०७५ चैतमा ४.४४ प्रतिशत रहेकामा २०७६ चैतमा २.१३ प्रतिशत रहेको छ । यसैगरी, वाणिज्य बैंकहरूबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०७५ चैतको ५.२८ प्रतिशतको तुलनामा २०७६ चैतमा २.१३ प्रतिशत रहेको छ । अन्य वित्तीय संस्थाहरूबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०७५ चैतको ५.०६ प्रतिशतको तुलनामा २०७६ चैतमा ३.५२ प्रतिशत कायम भएको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.