बेनी अस्पतालको ५० शैय्या क्षमताको भवन अलपत्र

| 2020 Nov 23 | 09:44 am 378

म्याग्दी, मंसिर ८: निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह सञ्चालक रहेको निर्माण कम्पनीले ठेक्का लिएको बेनी अस्पतालको ५० शैय्या क्षमताको भवन अलपत्र परेको छ।

सिंह सञ्चालक रहेको महादेव खिम्तीले गल्वा–रफिनासँग साझेदारी गरेर ठेक्का लिएको एक वर्षअघि नै बनिसक्नुपर्ने भवनको आधा मात्रै प्रगति भएको छ। २४ करोड ४ लाख २९ हजार ८ सय ६९ लागत अनुमान गरिएको भवन १८ करोड ८४ लाख ८ हजार ८९ मा ठेक्का लिएका थिए।

२०७६ मंसिर २० गते भवन निर्माण सक्ने लक्ष्य थियो। ४ हजार ९ सय ६३ वर्गमिटर क्षेत्रफलमा चारतले तीनवटा भवन बनाउन लागिएको हो। हालसम्म दुईवटा ब्लक भवनको मात्र तेस्रो तला ढलान भएको छ। एउटाको तेस्रो तला ढलानका लागि सेट्रिङ गरेर छोडिएको छ।

बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले ठेकेदारले पर्याप्त मात्रामा मजदुर परिचालन गर्न र निर्माण सामग्री जुटाउन नसक्दा भवन निर्माणमा ढिलाइ भएको बताए। ‘लकडाउन भएदेखि घर गएका ठेकेदार र मजदुर फर्किएका छैनन्, उनले भने ‘करोडौंको योजनामा दिनमा चार/पाँच जना मजदुरले झारा टार्ने शैलीमा काम गरेका छन्।

पटकपटक ताकेता र समन्वय गर्दा समेत निर्माण व्यवसायी काममा नफर्किएपछि भवन अलपत्र परेको अध्यक्ष कटुवालले बताए। भवन निर्माणमा भएको ढिलाइले सेवा प्रवाहमा असर परेको छ। ५० शैय्या क्षमता भए पनि १५ शैय्याको अस्थायी संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य भएको अध्यक्ष कटुवालले बताए।

पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ। नयाँ भवन बनाउन पुरानो भवन भत्काइएको थियो। बहिरंग कक्षको सेवा अस्थायी भवनबाट सञ्चालन गरिएको छ। आकस्मिक र अन्तरंग कक्ष पुरानो प्रशासनिक भवनबाट सञ्चालन गरिएको छ। स्वास्थ्य कार्यालयको भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ। सघन उपचार कक्ष (आईसीयू) र डाइलाइसिस कक्ष पनि स्वास्थ्यकै भवनमा स्थापना भएको छ। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.