काभ्रे, साउन १: धुलिखेल नगरपालिका–१ देवीटारस्थित एक जना बुहारीले सासूको हत्या गरेकी छन् ।
घरायसी विवादका क्रममा गएराति १० बजे बुहारी सुन्तली तामाङले लछारपछार पार्दै सिमेन्टको भित्तामा टाउको ठोक्काएर ६३ वर्षीया सासू माइलीमाया तामाङको हत्या गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन भट्टराईले दिएका जानकारी अनुसार टाउको र पेटमा गम्भीर चोट लागेकोले सासु माइलीमायाको उपचारका क्रममा बनेपाको शिर मेमोरियल अस्पतालमा गएराति १ बजे ज्यान गएको जानकारी दिए ।
सासूसँग झगडा गरी हत्या गरेकी २४ वर्षीया बुहारी सुन्तलीलाई घटनालगत्तै पक्राउ गरी बनेपा इलाका प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको बताइएकाे छ ।
सुन्तलीले कपाल समातेर घरको पक्की भित्तामा पटक–पटक टाउको ठोक्काइ सासूको हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाए।