बुटवल अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण नभएको पुष्टि

| 2020 Mar 30 | 04:14 pm 60

काठमाडौं, चैत १७: बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालमा आइतबार मृत्यु भएका युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

पाल्पा रिब्दीकोट स्थायी घर भई बुटवल सैनामैना ४ सिसौडाडा बस्ने ३४ वर्षका बाबुराम थापा क्षेत्रीको दोस्रो स्वाब परीक्षणको रिपोर्ट सोमबार दिउँसो आएको हो ।

युवकको दुई पटकको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको अस्थायी अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिए ।

पहिलो रिपोर्ट नेगेटिभ आएपछि हामीले शंका लागेर दोस्रो पटक परीक्षणका लागि पठाएका थियौं। तर, दोस्रो रिपोर्ट पनि नेगेटिभ आयो, डा थापाले भने ।

युवकको स्वाब अस्पताल भर्ना भएको चौथो दिन मात्रै परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको थियो ।

शनिबारसम्म थापाको स्वास्थ्य अवस्था स्थिर रहेकोमा आइतबार बिहान श्वासप्रश्वासमा समस्या देखिएको र दिउँसो एक बजे थापाको मृत्यु भएको थियो ।

दुबईमा ट्याक्सी चालक रहेका थापा त्यहाँबाट ६ गते त्रिभुवन विमानस्थल काठमाडौं उत्रिएका र चैत ७ गते बसबाट सैनामैना आएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.