बिरामीलाई सकस: शुल्कमा मनोमानी

रिपोर्ट नेपाल | 2020 Nov 21 | 09:37 am 49

काठमाडौं, मंसिर ६ः कोरोना भाइरस परीक्षण र उपचारका नाममा सरकारी अस्पतालले खुलेआम शुल्क असुल्दै आएको पाइएको छ । लक्षण देखिएकाको समेत ‘परीक्षण र उपचार’ भन्दै मनलाग्दी शुल्क असुल्दै आएको पाइएको हो । नीजि अस्पतालले पनि मनोमानी शुल्क लिने गरेका छन् । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुगमन संयन्त्रण प्रभावकारी बनाउन नसकेको पाइएको छ ।

कोरोना परीक्षणका लागि शुक्रबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका ३८ वर्षीय पुरुषले भने, ‘मलाई बेलुकी ज्वरो आएको थियो । भएपछि सिटामोल खाएर सुतें । बिहान हलुका त भयो तर धौंधौं भइरहेको थियो । अस्पताल पुग्दा ज्वरो आएको छैन भन्दै परीक्षण गर्न मानेनन् । गर्नै परे पैसा तिर्नुपर्छ भने ।’

सर्वोच्च अदालतको आदेश उल्लघंन गर्दै देशभरका सरकारी तथा नीजि अस्पताल र प्रयोगशालाले मनपरी शुल्क असुल्दै आएका हुन् । सरकारको संरक्षणमा उनीहरूले शुल्क असुलिरहेको पाइएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सूचीकृत अस्पतालले लक्षण वा चिह्न देखिएमात्रै परीक्षण र उपचार निःशुल्क गर्न सकिने बताए । ‘केही अस्पतालले लक्षण देखिएकाको समेत परीक्षण र उपचार निःशुल्क नगरेको पाइयो,’ उनले भने, ‘लक्षण वा चिह्न देखिएकाको परीक्षण र उपचार नगर्नेलाई कारबाही प्रक्रिया अघि बढाइन्छ ।

सर्वोच्च अदालतले कोभिड–१९ निःशुल्क परीक्षण हुनुपर्ने भन्दै आदेश जारी गरेको थियो । तर, अहिलेसम्म विपन्न तथा असहायले निःशुल्क परीक्षण गर्नै पाएका छैनन् । मन्त्रालयले लक्षणसहितका व्यक्तिको कोरोना परीक्षण मात्रै निःशुल्क गर्न सम्बन्धित अस्पताल तथा प्रयोगशालालाई निर्देशन दिएको थियो । सरकारी तथा निजी अस्पताल र प्रयोगशालाले सहज परीक्षण र उपचार नगर्दा बिरामीलाई सकस हुने गरेको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.