बाल मन्दिरको भवनमा प्रहरी वृत्त सार्ने तयारी

रिपोर्ट नेपाल | 2019 May 20 | 07:33 am 36

काठमाडौं, जेठ ६: भूकम्पपछि नक्सालस्थित बालमन्दिरका एक सय २८ अनाथ बालबालिकालाई टहरोमा राखिएको छ । नेपाल बाल संगठनको स्वामित्वमा रहेको मालीगाउँस्थित पक्की भवनमा भने प्रहरी कार्यालय सार्ने तयारी गरिएको छ ।

शिक्षाका लागि खाद्यान्न कार्यक्रम सञ्चालित मालीगाउँको पक्की भवनमा कमलपोखरी प्रहरी वृत्त सार्न लागिएको हो । भूकम्पले बालमन्दिरको मुख्य भवन भत्किएपछि मालीगाउँको भवनमा बालबालिकालाई सार्न खोजिएको थियो । तर, त्यहाँ बालबालिकालाई सार्न दिइएन । त्यसैले आश्रित बालबालिकालाई बालमन्दिरपरिसरमा प्रि–फ्याबको टहरोमा राखिएको छ । तर, अहिले त्यही भवनमा प्रहरी कार्यालय सार्ने निर्णय भइसकेको छ ।

कमलपोखरीबाट वृत्त कार्यालय हटाउनुपर्ने अवस्था आएपछि नेपाल प्रहरीले यस्तो निर्णय गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले बताए । कमलपोखरी विस्तार गर्नुपर्ने भएकाले त्यहाँबाट वृत्त कार्यालय सार्नुपर्ने भयो । वृत्तका लागि कार्यालय खोज्दै जाँदा मालीगाउँस्थित शिक्षाका लागि खाद्यान्न परियोजना सञ्चालन हुँदै आएको घर भेटियो । त्यही घरमा वृत्त कार्यालय सार्ने निर्णय भएको छ, उनले भने ।

भवन रहेको जग्गाको क्षेत्रफल चार रोपनीभन्दा धेरै छ । २८ वर्षदेखि त्यो भवनमा शिक्षा मन्त्रालयले शिक्षाका लागि खाद्यान्न परियोजना चलाउँदै आएको छ । बालबालिकालाई टहरोमा राखेर संगठनको भवनमा प्रहरी कार्यालय सार्नु गलत भएको बाल संगठनका कोषाध्यक्ष रामकृष्ण कँडेलले बताए । शिक्षा मन्त्रालयले बहुदल आएदेखि नै हाम्रो भवन प्रयोग गर्यो । यसबापत संगठनलाई मन्त्रालयले केही दिएको छैन, उनले भने ।

मालीगाउँका स्थानीय पवन केसीले गृह मन्त्रालयको निर्देशनपछि शिक्षाका लागि खाद्यान्न परियोजना सञ्चालन भएको बाल मन्दिरको भवनमा कमलपोखरी वृत्त सार्न लागिएको बताए । यसका लागि गृहसचिव प्रेमकुमार राईले परियोजना भक्तपुरको ठिमीमा सार्न परियोजना प्रमुखलाई निर्देशन दिइसकेको उनको भनाइ छ । उनले भने, परियोजना भएको भवनमा कमलपोखरी वृत्त सार्न गृहसचिवले नै निर्देशन दिएको सूचना आएको छ । त्यसलगत्तै हामीले यस क्षेत्रका सांसद गगन थापा, नेता डा राजन भट्टराईलगायत नेतालाई ध्यानाकर्षण गराएका छौँ ।

टहरोमा बालबालिकाको जीवन कष्टकर
बालमन्दिरमा अहिले एक सय २८ बालबालिका छन् । एक महिनादेखि तीन वर्ष उमेर समूहका ४० बालबालिका आश्रित छन् । तीनदेखि १० वर्ष उमेर समूहका बालक र तीनदेखि १६ वर्ष उमेर समूहका बालिका ८८ जना छन् । सबैलाई प्रि–फ्याबबाट निर्मित टहरोमा राखिएको छ । टहरोमा गर्मी र चिसोको सन्तुलन मिलाउन नसक्दा साना उमेरका शिशु बचाउन निकै मुस्किल भएको कोषाध्यक्ष कँडेलको भनाइ छ ।

बालमन्दिर रहेको मूल भवन भूकम्पले भत्कायो । बालबालिकालाई त्यहाँ राख्ने कुरो भएन । बालमन्दिरपरिसरमा खाली जग्गा थियो । त्यसैलाई म्यानेज गरिएको छ, उनले भने, टहरामा चिसो र गर्मीको सन्तुलन मिलाउन निक्कै गाह्रो हुनेरहेछ । यसले स–साना शिशुलाई निकै असर गर्छ । हाम्रो यो अवस्थालाई बुझिदिनुपर्यो ।

कँडेलका अनुसार भूकम्पले बालमन्दिरको भवन भत्किएपछि शिक्षाका लागि खाद्यान्न परियोजना राखिएको भवन खाली गराउन संगठनका प्रतिनिधि शिक्षा मन्त्रालय पुगे । तत्कालीन शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई भेटेर ज्ञापनपत्र बुझाइयो । मन्त्री श्रेष्ठले भवन खाली गर्ने वचन त दिए, तर कार्यान्वयन कहिल्यै भएन ।

उत्तमराज सुवेदी, प्रमुख
महानगरीय प्रहरी परिसर, काठमाडौं
कमलपोखरीबाट वृत्त कार्यालय सार्नुपर्ने भयो । कमलपोखरी विस्तार गर्नुपर्ने भएकाले यस्तो अवस्था आयो । वृत्तका लागि कार्यालय खोज्दै जाँदा मालीगाउँस्थित शिक्षाका लागि खाद्यान्न परियोजना सञ्चालन हुँदै आएको घर भेटियो । त्यही घरमा वृत्त कार्यालय सार्ने निर्णय भएको छ ।

बालमन्दिरको भवनमा प्रहरी कार्यालय सार्नु गलत
रामकृष्ण कँडेल कोषाध्यक्ष, बाल संगठन
परियोजना रहेको भवन बालसंगठनको नाममा छ । भवन बनेको जग्गा पनि संगठनकै नाममा छ । मुलुकभरका अनाथ बालबालिकाका लागि खाद्यान्न वितरण गर्ने उद्देश्यले बालमन्दिरले नै त्यो भवन बनाएको थियो । पछि शिक्षा मन्त्रालयले सोही परियोजना चलायो । भूकम्पले बालमन्दिरको मूल भवन भत्काएपछि हामीले त्यहाँ सर्ने भन्यौँ । यसका लागि धेरै पहल भए पनि सकिएन । अहिले त्यहाँ नेपाल प्रहरीको कमलपोखरी वृत्त सार्ने तयारी भएको सूचना आएको छ । यो गलत हो । आजकाे नयाँ पत्रिकाबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.