बालिका हराएको तीन दिनपछि मृत अवस्थामा फेला

रिपोर्ट नेपाल | 2021 Apr 08 | 07:50 am 185

मुगु, चैत २६ः जिल्लाको उत्तरी सोरुगाउँपालिका–९ की एक बालिका हराएको तीन दिनपछि मृत अवस्थामा फेला परेकी छन् । गत शनिबारदेखि बेपत्ता भएकी ९ वर्षीया लक्ष्मी चौलागाईं कर्णाली नदीमा बुधबार मृत अवस्थामा फेला परेकी हुन् ।

उनी सोही गाउँपालिका–८ तारापानीबाट हराएको जानकारी प्रहरीलाई गराइएको थियो । प्रहरी र स्थानीयले खोजतलास गर्दा कतै फेला नपरेकी बालिका माछा मार्न गएका स्थानीयले कर्णालीको घाट भन्ने स्थानमा मृत अवस्थामा फेला पारेका हुन् ।

सोरु गाउँपालिका–९ स्थायी ठेगाना भएकी चौलागाईंको घर–परिवार केही समयदेखि तारापानीमा बस्दै आएका छन् । बालिकाको घरदेखि ५ सय मिटर टाढा माछा मार्न गएका स्थानीयले कर्णाली नदीको बीच भागको ढुंगामा अड्किएको अवस्थामा फेला पारेको मृतककी आमा बेलकली चौलागाईंले बताइन् ।

शव भेटिएको स्थानभन्दा केही मिटरमाथि आधा खाएको चाउचाउको प्याकेट र सिंगो अर्को प्याकेटसमेत भेटिएको छ । उक्त स्थानको प्रकृति हेर्दा बालिकालाई कसैले ललाईफकाई घरबाट टाढा लगेर कुनै अनैतिक क्रियाकलाप गरी हत्या गरेर नदीमा फालेको हुन सक्ने स्थानीय लालभक्त चौलागाईं बताउछन् । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.