बाढीसँगै बग्छ आयोजनाको ठूलो लगानी

रिपोर्ट नेपाल | 2021 Aug 02 | 08:35 am 425

काठमाडाैं, साउन १८ः मेलम्ची खानेपानीको पर्खाइमा झन्डै दुई दशक बिताउनुप-यो काठमाडौं उपत्यकाबासीले । गत चैतमा धारामा मेलम्चीको पानी आउँदा उपभोक्ता खुसी थिए । तर, त्यो खुसी धेरै टिकेन ।

शनिबार आएको बाढीसँगै मेलम्ची खानेपानी आयोजना फेरि अनिश्चित बनेको छ । गत असार १ मा पनि मेलम्चीमा ठूलो बाढी आएको थियो । तर पनि मेलम्ची खानेपानी आयोजना ठूलो क्षति हुनबाट जोगियो । कारण– सोही दिन खानेपानीको सुरुङ खाली गराउन आयोजनाका गेट बन्द गरिएको थियो । विज्ञहरुको भनाइमा यदि गेट बन्द नभएको भए त्यो बाढीले सुरुङमा त ठूलो क्षति गथ्र्यो नै, काठमाडाैंमा पनि क्षति हुन्थ्यो । गेट बन्द गरिएकाले अकल्पनीय क्षति हुन पाएन । तैपनि आयोजनामा करिब २ अर्बको क्षति भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठले बताए । “हाम्रा आयोजनाहरु विपद् प्रतिरोधी हुनुपर्छ भन्ने पाठ सिकाएको छ यो घटनाले । यदि त्यो दिन मेलम्चीको गेट बन्द नभएको भए धेरै नै क्षति पुग्न सक्थ्यो,” उनले भने, “छिट्टै नै याङ्ग्री र लार्के खानेपानी आयोजना निर्माणको काम सुरुवात गर्ने तयारीमा छौं ।

मेलम्चीको जस्तै बाढीले क्षति गर्न नसकोस् भन्ने उद्देश्यले डिजाइनमा पुनरावलोकन गर्दैछौं ।” मेलम्ची खानेपानी विकास समितिका अनुसार असार १ को बाढीले आयोजनासम्म जान जोडिएको करिब ८ किलोमिटर सडक मर्मत पनि समितिले नै गर्ने छ । ३० मिटर फराकिलो नदी बाढी आएपछि ६० मिटरको बनेको आयोजनाले बताएको छ । भत्किएका ५ वटा पुल निर्माण गर्नुपर्ने आयोजनाको दायित्व थपिएको छ । नदीको क्षेत्रफल दोब्बर भएपछि पुलको लम्बाइ पनि बढेसँगै लागत थपिने छ । सबै प्रक्रिया सम्पन्न गर्नका लागि आयोजनालाई थप २ अर्ब लाग्ने भएको हो ।

समितिका अनुसार शनिबारको बाढीले कति क्षति पुगेको छ, यकिन विवरण आउन बाँकी छ । “असार १ गते करिब २ अर्बको क्षति भएको अनुमान गरिएको छ, तर शनिबारको बाढीले थप क्षति गराएको छ,” समितिका प्रवक्ता राजेन्द्र पन्तले भने, “अहिले आयोजनासँग सम्पर्कविहीन छौं । असार १ को भन्दा ठूलो बाढी आएकाले धेरै क्षति भएको हुन सक्छ । अब मेलम्ची अनिश्चित बनेको छ ।”

उता, डडेलधुरामा मनसुन सुरुवात नहुँदै जेठ पहिलो साता आएको बाढीले पाँच करोड ५२ लाखमा ठेक्का पाएको निर्माणधिन पुल बगायो । गन्यापधुरा गाउँपालिका– ३ र नवदुर्गा गाउँपालिका–३ लाई जोड्ने लमखेती गाडको सकाइल खण्डमा सडक विभागले निर्माण गरिरहेको पुल बगाएको थियो ।

त्यसैगरी लमजुङको दोर्दी खोलामा आएको बाढी तथा पहिरोका कारण १२ मेगावाट क्षमताको दोर्दी जलविद्युत् आयोजनामा क्षति पुगेको विद्युत् विभागले गरेको अध्ययनले देखाएको छ । विभागका अनुसार २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी, ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’मा समेत क्षति पुगेको छ । सो नदी करिडोरमा निर्माण भइरहेका कूल चार आयोजनामा क्षति पुगेको विभागको अध्ययनमा देखिएको छ ।

यी आयोजनाहरु त केही उदाहरणमात्रै हुन् । मनसुनजन्य विपत्तिका कारण थुप्रै आयोजनाहरुमा क्षति पुगेको छ । आयोजनामा गरिएको ठूलो लगानी बाढीसँगै बगेको छ । कोभिडका कारण शिथिल बनेको मुलुकको अर्थतन्त्र जलवायुजन्य विपतले फेरि थप शिथिल बनाउँदै लगेको छ । विकाससँगै वातावरण सन्तुलन गर्न नसक्दा तथा प्रकृतिले निम्त्याउने विपद्को पूर्वतयारी, पूर्वसुचना र वातावरणमैत्री विकास निर्माणसहितको रणनीति अपनाउन नसक्दा यस्तो क्षति बढेको सरोकारवालाहरुको भनाइ छ ।

राष्ट्रिय जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालका अनुसार मनसुन सुरुवात भएयता २५ जलविद्युत आयोजनामा बढी पहिरोले क्षति पुगेको, १९ पक्की पुल बगाएको र ७ वटा काठे पुल बगाएको छ । १ सय ५१ सडक खण्डमा क्षति पुगेकोमा अझै १३ वटा सडक खण्ड अवरुद्ध रहेको प्राधिकरणले जनाएको छ ।

बाढी पहिरोका कारण क्षति पुगेका संरचना निर्माण गर्न साढे ४ अर्वभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको गृह मन्त्रालले बताएको छ । यसले विकासका आयोजनाहरुमा गरिएको लगानी असुरक्षित रहेको देखाउँछ । काराेबार दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.