बडादशैंको आठौं दिन आज महागौरीको पूजा आराधाना

| 2020 Oct 24 | 07:03 am 93

बडादशैंको आठौं दिन आज महागौरी पूजाको पूजा आराधाना गरिन्छ । माता दुर्गाको आठौं स्वरुपको नाम हो महागौरी । महागौरी स्वरूपा दुर्गाभवानीको आठौं दिनमा भक्ति पूर्वक पूजाआराधना गरिन्छ । महागौरी आठ वर्षको उमेरमै कठोर तपस्यामा लिन हुँदा शरीर कालो भएको थियो र साक्षात् शिवले गंगाजलद्वारा स्नान गराएपछि यिनको शरीर गोरो भएकाले महागौरी भनी उनको नामकरण गरिएको शास्त्रमा उल्लेख छ । यिनको शक्ति अमोघ र शुभ फलदायिनी मानिन्छ । यिनको उपासनाले कलुषीत मन दुर भई शान्ति र परमपद प्राप्ति हुन्छ भन्ने मान्यता छ ।

साथै आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन शास्त्रसम्मत रूपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाको विशेष पूजाआजा गरिनुका साथै दुर्गा सप्तशती, श्रीमद्देवीभागवत् र देवी स्तोत्र पाठ गरिन्छ ।

माता दुर्गाको आठौं अवतारकी देवी महागौरीको पूजाको पनि आफ्नो छुट्टै विधि विधान रहेको पाइन्छ । यिनको शक्ति अमोघ रहेको छ भने यिनको उपासनाद्वारा भक्तको पूर्वसञ्चित पापको समेत नष्ट गराउने शक्ति रहेको पाइन्छ । यी देवीको उपासनाले भविष्यमा समेत पाप (सन्तापसमेत) नष्ट हुने शास्त्रीय मान्यता रहेको छ ।

महागौरीको पूजा गर्दा यो श्लोक प्रयोग गरिन्छ–श्वेते वृषे समारुढा श्वेताम्बरधरा शुचिः । महागौरी शुभं दद्यान्महादेवप्रमोददा ।

स्वरूप
सेतो वर्ण र सेतो पहिरन गरेकी, वृष वाहन भएकी, चार हात भएकी देवीलाई महागौरी भनिन्छ । यी देवीको माथिल्लो दाहिने हातमा अभयमुद्रा, तल्लो दाहिने हातमा त्रिशूल छ भने बायाँ हातको माथिल्लो हातमा डमरु र अर्को बायाँ हातमा वरमुद्रा छ । यी देवीको मुद्रा शान्त खालको देखिन्छ ।  यी माताको स्वरूप गोरो वर्णको छ । यिनका सबै कपडा र गरगहना पनि सेतै छन् । बालककालमा पार्वती हुँदादेखि नै शिव पति पाउन यिनले कठोर तपस्या गरेकी थिइन् । यिनको प्रतिज्ञा थियो कि महादेवलाई पाए वरण गर्छु नत्र कुमारी नै भएर बस्छु । यस कठोर तपस्याको कारण यिनको शरीर एकदम कालो हुन पुगेको थियो ।

यिनको तपस्याले खुशी भएका शिवजीले यिनको शरीरलाई गंगाजलमा गएर नुहाइदिएपछि उनी गोरी भइन् र उनको नामै गौरी रहन गएको हो । यी देवीको शक्ति अमोघ छ र प्रत्यक्ष फल दिने हुन्छ । यी भगवतीको भक्ति आराधना गर्नाले भक्तजनहरूको सबै दोष नाश हुन्छ र पछिसम्म पनि बाधा आउन छोड्छ ।

पूजा विधि
महाअष्टमीको दिन महिलाहरुले आफ्नो सुहागको लागि देवी माताको भक्ति गर्ने गरेका छन्। देवी गौरीको पूजाको विधान पनि पूर्ववत नै हो अर्थात् जसरी वा जुन प्रकारले सप्तमी तिथिसम्म दूर्गाको पूजा गरिन्छ उही प्रकारले अष्टमीको दिनसमेत अरु दिनको जस्तै देवीको पञ्चोपचार विधिले पूजा गरिन्छ ।

महत्व
माता महागौरीको ध्यान, स्मरण, पूजन र आराधना भक्तको लागि सर्वाधिक कल्याणकारी हुन्छ । हामीले सदैव यिनको ध्यान गरेमात्रै सारा दुःखबाट मुक्ति पाउन सक्ने शास्त्रीय मान्यता रहेको छ । यिनको कृपाले अलौकिक सिद्धि प्राप्त हुन्छ । महागौरी भक्तहरुको कष्ट अवश्य पूरा गर्छिन । इनको उपासनाद्वारा आर्जन गर्न नसक्ने कुनै विषय नै छैन ।

उपासना
पुराणमा माता महागौरीको महिमाको प्रचुर आख्यान उल्लेख गरिएको छ । यो मनुष्य जगतमा सत्यको प्रेरित गर्दै असत्यको विनास गर्ने देवी नै महागौरी हुन्। यिनको उपासना गर्दा निम्न मन्त्रहरु पढ्नुपर्छ ।

या देवी सर्वभूतेषु माँ गौरी रूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।।

विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्षप्राप्तिको चाहना गर्ने हुनाले देव मन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिमा जन्म लिने शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

‘सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ, सात्विक जल, चन्दन र अक्षतालगायत षोडशोपचारले गरिने पूजा हो, सात्विक र पशुबलिसहितको पूजालाई राजस पूजा भनिन्छ, राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शास्त्रमा परिभाषित गरिएकाले पशुबलि पनि शास्त्रीय हो’, उहाँले भन्नुभयो ।

ब्राह्मणका लागि भने पशुबलि वर्जित गरिएको अध्यक्ष गौतमले बताउनुभयो । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको उहाँको भनाइ छ । दुर्गा शप्तशती चण्डीको आठौँ अध्यायमा पनि यससम्बन्धी चर्चा भएकाले पशुबलिलाई अशास्त्रीय भन्न नमिल्ने डा गौतम बताउनुहुन्छ ।

‘राज्य सञ्चालकले त प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशुबलि विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन छ’, उहाँले भन्नुभयो । यी तीन शक्ति दुर्गाबाट मात्र प्राप्त गर्न सकिन्छ ।

आजैका दिन राति पशुबलिको विधि र पूजाआजासहित कालरात्रि मनाउने गरिन्छ । कालरात्रिको पूजा विधि र संकल्पसमेत छुट्टै भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ ।

आजका दिन काठमाडौँ उपत्यकाभित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, संकटा, बज्रबाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायत मन्दिरमा पनि बलिसहित पूजाआजा गर्नेको बिहानैदेखि भीड लाग्छ ।

यसैगरी उपत्यका बाहिरका नुवाकोटका देवीघाट र भैरवी, गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेल्धुराको उग्रतारा, काभ्रेपलाञ्चोकका चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालिञ्चोक भगवतीलगायत शक्तिपीठमा पनि बलिसहित पूजाआराधना गर्ने श्रद्धालु भक्तजनको घुइँचो लाग्छ ।

आजको दिन कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेष रूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजाआजा गरिन्छ । यी साधनलाई देवीको शस्त्रास्त्रका रूपमा मानी पूजा गरिन्छ ।

देवीका शस्त्रास्त्रसहित चतुरङ्गिणी सेनाको पनि आह्वान गरी पूजा गरिन्छ । पशुबलि नचढाउनेले भने आज पूजाकोठामा काँक्रो, घिरौँला, कुभिण्डो, मूला, नरिवल आदि बलि चढाई पूजाआजा गर्छन् । आज राति हनुमानढोकाको दशैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गरिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.