बँदेलको आक्रमणबाट बाजुरा र डोटीमा आठ जना घाइते

| 2020 Feb 10 | 10:51 am 168

बाजुरा/डोटी, माघ २७: यी दुई जिल्लामा जंगली जनावर बँदेलको आक्रमणबाट आठ जना घाइते भएका छन् ।

बाजुरा जिल्लाको गौमूल गाउँपालिका–३ माझपालिको धर्मोदय आधारभूत विद्यालयमा सरसरफाई गरिरहेका सात जनालाई अचानक आएको बँदेलले आक्रमण गरी घाइते बनाएको छ ।

घाइते हुनेमा ५० वर्षीय जगत विश्वकर्मा, ४० वर्षीय पूर्ण विक, ५० वर्षीय डवल रोकाया, ४५ वर्षीय धनबहादुर रोकाया, ४० वर्षीय प्रेम रोकाया, ४० वर्षीय मेश रोकाया र ४२ वर्षीय लाल कामी रहेका प्रहरीले जानकारी दिएको हो।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायाका अनुसार घाइते भएकामध्ये जगत विश्वकर्माको अवस्था गम्भीर रहेको जानकारी दिए ।

विश्वकर्मालाई उपचार संभव नभएपछि अन्यत्र रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी चुडामणि पन्तले बताए ।

बँदेलको आक्रमणबाट विश्वकर्माको दुवै हातको औ‌ँला चुँडिएको र ढाड भाँचिएको अस्पतालले जनाएको छ । पूर्ण विक। र डवल रोकायाको भने हात खुट्टा र ढाडमा चोट लागेको अस्पतालले जनाएको छ ।

घाइते भएका मध्ये चार जनालाई गौमूल स्वास्थ्य चौकीमा उपचारपछि घर फर्काइएको बताइएको छ ।

त्यस्तै डोटीको शलेनामा पनि बँदेलको आक्रमणमा ४७ वर्षीया महिला गम्भीर घाइते भएकी छिन् ।

घाइते हुनेमा तुलसी भण्डारी रहेकी छिन् । उनको दिपायल राजपुरको सुजङ्ग अस्पतालमा उपचार भैरहेको बताइएकाृे छ ।

उनको शरीरमा गहिरो चोट लागेको अस्पतालका स्वास्थ्य प्रमुख अर्जुन बलायरले जानकारी दिए ।

स्थानीयबासीका अनुसार खप्तड राष्ट्रिय निकुञ्जबाट जङ्गली बँदेल बस्तीमा आहार खोज्नका लागि छिर्ने र गाउँलेमाथि आक्रमण गर्ने क्रम बढेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.