फोनबाट धम्क्याई जबरजस्ती चन्दा लिन खोज्ने चार जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Nov 10 | 07:43 pm 87

काठमाडौं, कात्तिक २५ः उपत्यका लगायत विभिन्न स्थानका व्यावसायीहरुलाई फोनबाट धम्क्याई जबरजस्ती चन्दा असुल गर्न खाज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका २ का ३३ वर्षीय बिन्तोष सिलवाल (सुनार), रामेछाप सुनापती गाउँपालिका ३ का ३१ वर्षीय रामदल श्रेष्ठ (अटल), काभ्रे तिमाल गाउँपालिका ५ का ५२ वर्षीय तीर्थमान तामाङ र चितवन भरतपुर महानगरपालिका १३ का ४२ वर्षीय मन्दुराज आचार्य रहेका छन् ।

उनीहरुले व्यावसायीहरुलाई फोन गरी नेकपा माओवादी विप्लव समुहको पूर्व जिल्ला सेक्रेटरी र कार्यकर्ता हो भनी ३ करोड चन्दा माग गर्ने माग बमोजिम चन्दा नदिएमा भौतिक कारबाही समेत गर्ने धम्की दिने गरेको महाशाखाले जानकारी दिएको हो ।

व्यावसायीहरुको कार्यरत कार्यालय र बसोबास गर्ने स्थानको निगरानी गरी जबरजस्ती रकम माग गरेको भन्ने महाशाखामा सूचना प्राप्त भए अनुसार अपराध महाशाखाबाट खटिएको बिशेष टोलीले उक्त कार्यमा संलग्न व्यक्तिहरुको अनुसन्धान तथा खोजतलास गर्ने क्रममा सोमबार काठमाडौंको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको महाशाखाले जनाएको छ ।

पक्राउ गरी प्रारम्भिक अनुसन्धान पश्चात् आपराधिक लाभ लिन नहुने कसुर जबरजस्ती चन्दा असुली मुद्दा दर्ता गरी सम्मानित काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप भई महानगरीय प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता तथा सूचना अधिकृत प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.