फेसबुकलाई सकस बन्दैछ युरोपेली बजार

रिपोर्ट नेपाल | 2019 Feb 11 | 09:33 am 230

काठमाडौं, माघ २८: फेसबुकले आफ्ना दुई अर्ब भन्दा धेरै प्रयोगकर्ताका डाटाहरुको बलमा आफ्ना विशाल विज्ञापन व्यवसाय स्थापित गरेको छ। तर फेसबुकको यहीँ विशाल डाटाबेस उसका लागि सबैभन्दा ठूलो समस्या बन्‍नेवाला छ ।

गत बिहीबार यसको एउटा प्रष्ट संकेत देखा परेको छ । जर्मन सरकारले फेसबुकमाथि आफ्नो बजारको आधिपत्यलाई दुरुपयोग गरेको आरोप लगाउँदै आफ्नो विज्ञापन बजारलाई मजबुत बनाउनका लागि आफ्ना अन्य सोसल मिडिया प्लाटफर्महरु र थर्ड पार्टी वेबसाइटहरुका डाटाहरु को दुरुपयोग नगर्न आदेश दिएको छ।

फेसबुकले आफ्नो विज्ञापन व्यवसायलाई बढाउनका लागि फेसबुक मात्र नभै इन्स्टाग्राम, ह्वाट्सएप जस्ता आफ्नै सोसल मिडिया एपहरु तथा अन्य थर्ड पार्टी वेबसाइटमा रहेका प्रयोगकर्ताका डाटाहरुको समेत उपयोग गर्ने ग्रेको छ । जर्मन सरकारको यस्तो आदेशपछि अब फेसबुकले फेसबुकको प्लाटफर्ममा विज्ञापनका लागि अन्य एप तथा वेबसाइटका डाटाहरुको प्रयोग गर्न पाउने छैन ।

यसले फेसबुकको विज्ञापन बजारमा असर पार्ने र फेसबुकमाथि दबाब सिर्जना हुने विज्ञहरुको भनाई छ ।

फेसबुक प्रयोग गर्नका लागि मानिसहरुले पैसा तिर्नु पर्दैन । तर वास्तवमा फेसबुक प्रयोगकर्ताले आफ्ना डाटाहरु फेसबुकलाई प्रदान गरेर त्यसको मूल्य चुकाएका हुन्छन् । फेसबुकले प्रयोगकर्ताका यस्तै डाटाहरुको विश्लेषण मार्फत विज्ञापनदाताका विज्ञापनहरु लक्षित प्रयोगकर्तासम्म पुराएर मोटो रकम कमाउने गरेको छ ।

अर्ब भन्दा धेरै प्रयोगकर्ता भएका इन्स्टाग्राम र ह्वाट्सएप समेत आफुमा विलय गराएपछि फेसबुक कम्पनी विश्वका अर्बौँ मानिसका डाटाको भण्डार बनेको छ ।

जर्मन सोसल मिडिया नियामकका अनुसार फेसबुकले अहिले जर्मनीको सोसल मिडिया बजारको ९५ प्रतिशत हिस्सा ओगटेको छ । यसको अर्थ ९५ प्रतिशत जर्मनहरुले या त फेसबुकसँग आफ्ना डाटा शेयर गर्नुपर्दछ, या त सोसल मिडिया नै नचलाइकन बस्नु पर्दछ । स्नापच्याट, युट्युब तथा टि्वटर जस्ता प्लेटफर्मले प्रयोगकर्तालाई फेसबुकको जस्तो सेवा उपलब्ध नगराउने भएको हुँदा ती प्लाटफर्मलाई सोसल मिडिया बजारमा समावेश गर्न नसकिएको उक्त निकायको भनाई छ । सोही कारण फेसबुकसँग बजारमा प्रतिस्पर्धाका लागि अरुलाई समस्या भएको छ ।

नियामक निकायले फेसबुक कम्पनीलाई आफ्ना प्रयोगकर्ताको डाटा संकलन गर्न तथा अन्य प्लेटफर्मका डाटाहरुलाई एकत्रित गर्नका लागि प्रयोगकर्ताको सहमति अनविार्य रुपमा लिन समेत आदेश दिएको छ ।

फेसबुकले भने जर्मन सरकारको यस्तो आदेश प्रति असहमति जनाउँदै त्यस विरुद्ध पुनरावेदन गर्ने जनाएको छ ।

आफ्नो ब्लग पोष्टमा फेसबुकले भनेको छ, ‘नियामक निकायले जर्मनीमा हामीले बेहोरिरहेको तिव्र प्रतिस्पर्धालाई नजरअन्दाज गरेको छ भने हामीले युरोपेली गोपनियता कानून पालना गरिरहेको कुरालाई गलत रुपमा व्याख्या गरेको छ । साथै यसले युरोपेली युनियनभर डाटा सुरक्षण मापदण्डको एकरुपता कायम गर्ने युरोपेली कानूनको संयन्त्रलाई पनि अवमूल्यन गरेको छ ।’

साथै फेसबुकले आफु विरुद्ध जर्मन निकायले अस्वभाविक मादपण्ड लाद्ने कोसिस गरेको आरोप लगाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.