फेरिँदै विद्याको मन्दिर

| 2021 Jan 13 | 08:55 am 165

काठमाडाैं, पुस २९ः २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पले मुलुकका करिब १५ जिल्लामा रहेका शिक्षाको मन्दिर (विद्यालय भवन) भत्कायो । विद्यालय भवन नभएपछि बालबालिकाको पढाइ प्रभावित बन्यो । कतिपय सरकारी विद्यालयको संरचना जीर्ण बन्दै गएको र भूकम्पले थप क्षति भएपछि सामुदायिक विद्यालयले ठूलो भौतिक क्षति व्यहोर्नु परेको थियो ।

पुराना जीर्ण भवन र भूकम्पबाट प्रभावित बनेर क्षतिग्रस्त पूर्वाधारको सामना गरेका विद्यालयले नियमित पठनपाठन सञ्चालनमा समेत समस्या खेप्न बाध्य भए । विस्तारै त्रिपाल र पूराना जस्ताको टहराको भरमा पढाइ सञ्चालन गरियो । बर्खामा बाढी पहिरो र हिउँदमा चिसो खेप्दै निरन्तर पढाइ सञ्चालन भयो ।

शिक्षाको मन्दिरको यो समस्या लामो समयसम्म पनि रहेन । सरकार, दातृ निकाय, संघ संस्थाको पहल र लगानीमा क्षतिग्रसत विद्यालय भवनको निर्माण कार्य सुरु भयो । विद्यालयका भौतिक संरचना पुनर्निर्माणले तीव्रता पाएसँगै विद्यालयका स्वरुप फेरिएका छन् । स्वरुप फेरिएसँगै पठनपाठनमा सहज हुनुका साथै विद्यार्थीमा उत्साह आएको छ । विद्यार्थी संख्या, विद्यालयको आवश्यकता अनुसार चारदेखि १२ कोठे भवन, शौचालय, पुस्तकालयका लागि आवश्यक भवन निर्माण भएका छन् ।

भूकम्प पछि समस्यामा परेका विद्यालयमध्ये त्रिपुरासुन्दरी गाउँपालिका–३ मुलपानीमा रहेको महेन्द्रोदय माध्यमिक विद्यालय पनि एउटा हो । यो विद्यालयले त्रिपाल र पुरानो जस्ता संकलन गरेर चार वर्षसम्म पढाइलाई निरन्तरता दियो । चार वर्ष अस्थायी टहराले थेगेको विद्यालयमा अहिले भने पक्की भवन निर्माण भएको छ ।

पक्की भवन निर्माणपछि विद्यार्थी खुसी छन् । ‘भूकम्पपछि अस्थायी टहरामा बसेर पढ्नुपढ्दा डरले विद्यालय आउन पनि मन लाग्दैनथ्यो’, कक्षा १० का विद्यार्थी सनोज कडेलले भने, ‘नयाँ भवन पाएसँगै हामी उत्साहित भएका छौं, अब पढाइ प्रभावित हुँदैन ।’

भूकम्प पछि दुईवटा कक्षाका विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउनु पर्ने बाध्यता थियो । एउटै कक्षामा पढाउनु पर्दा विद्यार्थीको ध्यान पढाइमा भन्दा अन्यन्त्र जाने गरेको शिक्षकको भनाइ छ ।

अस्थायी टहरामा कष्टका साथ पढ्दै आएका विद्यार्थी पक्की भवन, शौचालय, ल्याबको सुविधासहितको सेवा पाएपछि खुसी भएका छन् । अब विद्यालयल प्रशासनलाई खेलमैदान, खानेपानीको सुविधा तथा अन्य गतिविधिलाई नियमित रूपमा सञ्चालन गर्न विद्यार्थीले आग्रह गरेका छन् । विद्यालयका शिक्षक तथा अभिभावकले पनि पढाइमा सुधार हुने अपेक्षा लिएका छन् । नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.