प्रविधिको रुपान्तरण र आर्थिक समस्याबारे सरकार जानकार छ: मन्त्री कार्की

| 2022 Apr 03 | 03:36 pm 281

काठमाडौं, चैत २०ः सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशले भोग्दै आएको प्रविधिको रुपान्तरण र आर्थिक समस्याबारे सरकार जानकार रहेको बताएका छन् । मन्त्री कार्कीले प्रविधिको विकास, रुपान्तरण र मल्टिमिडियाको आवश्यक्ता अनुसार अझै परिमार्जित ढंगले अघि बढ्न रेडियो नेपाललाई आग्रह समेत गरे ।

रेडियो नेपालको ७२ औं वार्षिकोत्सवको अवसर पारेर आइतबार सिंहदरबारमा आयोजित एक समारोहमा बोल्दै उनले देशको सबै भू–भागमा रेडियो नेपालको पहुँच पुर्याउन जरुरी रहेको पनि बताए । सुदूर गाउँको समस्या र सम्भावनालाई उजागर गर्नेगरी रेडियो नेपालले अझ निष्पक्ष, तथ्यपूर्ण, विश्वसनीय र भरपर्दो समाचार र सूचना प्रवाह गर्नुपर्ने पनि मन्त्री कार्कीको भनाइ थियो ।

उनले रेडियो नेपाललाई बदलिँदो परिवेश र त्यसले निम्त्याएको प्रतिस्पर्धामा खरो ढंगले उत्रन पनि आग्रह गरे । मन्त्री कार्कीले राष्ट्रिय प्रशारण संस्था हुनुको नाताले रेडियो नेपालले राष्ट्रिय दायित्वलाई समेत हेरेर काम गर्नुपर्ने स्पष्ट पारेका छन् ।

उनले भने, ‘अझै पनि देशको सतप्रतिशत भू–भागमा रेडियो नेपाल सुनाउन यसले थप सेवा प्रशारण गर्ने कार्यमा लाग्नुपर्ने आवश्यक्ता छ । वर्तमान अवस्थाको प्रतिस्पर्धी युगमा रेडियो नेपाल समय सुहाउँदो नविनतम प्रविधिहरुको उपयोग गर्दै अझ निष्पक्ष, तथ्यपूर्ण, विश्वसनीय र भरपर्दो समाचार र सूचना प्रवाह गर्नुपर्दछ । र, राष्ट्रिय दायित्व बोध गर्दै देशको बहुलतालाई सम्मान गर्दै सुदूर गाउँको समस्यालाई र सम्भावनालाई सम्बोधन गर्न जरुरी छ ।’

‘राष्ट्रिय प्रशारण संस्था, नेपाली माटोको आवाज हुनुको मूल मूल्य अझै माथि उठाउनु छ’, उनले भने, ‘बदलिँदो समय, प्रतिस्पर्धा र यसले निर्वाह गरिरहेको राष्ट्रिय दायित्व समेतलाई हेरेर यसको आन्तरिक जीवनलाई अझ बलियो बनाउनुछ । देशले भोग्दै आएको प्रविधिको रुपान्तरण र आर्थिक समस्याको विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय जानकार छ ।’

त्यस्तै उनले प्रविधिको विकास, रुपान्तरण र मल्टिमिडिया आवश्यक्ता अनुरुप यसलाई अझै धेरै ढंगले परिमार्जन गर्न जरुरी रहेको बताए । यसका लागि हरतरहले सघाउन र राष्ट्रको यस धरोहरलाई नयाँ उचाईमा लैजान मन्त्रालय तयार रहेको उनले बताए । उनले भने, ‘यसको सफलताको निम्ति रेडियो नेपालका सबै सञ्चारकर्मी, प्राविधिक र व्यवस्थापकहरुको भूमिकमा उत्तिकै महत्वपूर्ण हुन्छ ।’

मन्त्री कार्कीले राष्ट्रको धरोहरको रुपमा रहेको रेडियो नेपाललाई थप उचाईमा लैजान सरकार लागि परेको उल्लेख गर्दै यसमा रेडियो नेपालमा आवद्ध सबै सञ्चारकर्मी, प्राविधिक र व्यवस्थापकहरुले पनि उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.