प्रमुख प्रतिपक्षी दलका कारण स्थगित संसद बैठक बुधबार संचालन हुने

रिपोर्ट नेपाल | 2019 Jul 10 | 07:47 am 34

काठमाडौं, असार २५:  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदहरुको अवरोधका कारण मंगलबारको संसद बैठक सूचना टाँसेर आजसम्मका लागि स्थगित भएको छ ।

कांग्रेस र राजपाले सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठन गर्न माग गर्दै नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि पहिलोपटक स्थगित भएको थियो ।

सर्लाहीका विभिन्न ३ वटा घटनाबारे गृहमन्त्रीले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै उनीहरुले सत्यतथ्य छानविनका लागि संसदीय समिति गठन गर्न माग गरेका हुन् । सभामुखले समिति गठनबारे दलहरुबीच सल्लाह गर्नुपर्ने भन्दै बैठक सञ्चालन गर्न पटक–पटक अनुरोध गरेपनि सांसदहरुले वेल घेराउ गरेर सदनको काम कारवाही अवरोध गरेपछि बैठक केहीबेर स्थगित भएको थियो ।

सभामुखले संसदमा भएका पार्टीहरुसँग आवश्यक परामर्श गर्न केही समय चाहियो भन्दै पटक–पटक आसन ग्रहणका लागि सांसदहरुलाई अनुरोध गरेका थिए । तर कांग्रेस र राजपाका सांसदहरुले तत्काल समिति गठन हुनुपर्ने माग छोडेनन् । सत्तारुढ दल नेकपाका सांसद खगराज अधिकारीले प्रतिपक्षी दलले संविधान र नियमावलीलाई उल्लंघन गरेको भन्दै नियमापत्ति जनाएका थिए । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.