काठमाडाैं, बैशाख १५ः प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले बिहीबार बारा जिल्ला, अमलेखगञ्जस्थित नेपाली सेनाको श्री प्रतिविद्रोह तथा जंगल वारफेर शिक्षालयको निरीक्षण भ्रमण गरेका छन्। निरीक्षणको दौरान प्रधान सेनापति महारथी शर्माले उक्त शिक्षालयको वस्तुस्थिती लगायत विविध पक्षबारे जानकारी लिई शिक्षालयद्वारा तयार गरिएको डेमोन्स्ट्रेशनको अवलोकन, सकलदर्जालाई सम्बोधन तथा श्री प्रतिविद्रोह तथा जंगल वारफेर शिक्षालयको स्मारिका-२०७८ विमोचन समेत गरेका थिए ।
भ्रमणकै क्रममा, प्रधान सेनापति महारथी शर्माले नेपाली सेनाद्वारा, आसन्न स्थानीय तह निर्वाचन- २०७९ को सुरक्षामा केन्द्रित रही बारा जिल्लास्थित महागढीमाई ईलाकामा स्थापना गरेको Company Operating Base (COB) को निरीक्षण गरेका थिए । निरीक्षणको क्रममा उनले उक्त COB को वस्तुस्थितीलगायत विविध पक्षबारे जानकारी लिई सकलदर्जालाई सम्बोधन गरेका थिए ।