प्रधानसेनापति चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधी आर्मीलाई

रिपोर्ट नेपाल | 2019 Jun 10 | 10:22 pm 39

काठमाडौं, जेठ २७: नेपाली सेनाद्वारा आयोजित “प्रधानसेनापति चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७६” को सोमबार सम्पन्न भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कभर्डहल, लगनखेलमा एक विशेष समारोहका बीच समापन भएको हो।

विभागीय तीन टिमसहित सातवटै प्रदेशका एक एक भलिबल टिम गरी जम्मा दश टिमको सहभागितामा यही जेठ १९ गतेदेखि सञ्‍चालन भएको थियो । उक्त प्रतियोगिता अन्तरगत आज अपरान्ह नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश भलिबल टीम बीच भएको फाईनल खेलमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गरी उपाधी चुमेको छ ।

खेलमा प्रथम हुने नेपाली सेनाको त्रिभुवन आर्मी क्लब टिमलाई प्रधानसेनापति थापाले प्रमाण पत्र, मेडल, ट्रफी र ३ लाख (तीन लाख) को चेक प्रदान गरेका छन्।

त्यसैगरि, उक्त खेलमा द्धितिय तथा तृतिय स्थान हासिल गर्न सफल क्रमशः गण्डकी प्रदेशको भलिबल टिम र नेपाल प्रहरी भलिबल टिमले प्रमाण पत्र, मेडल तथा १ लाख ५० हजार (एकलाख पचास हजार) र ७५ हजार (पचहत्तर हजार) को चेक प्राप्त गरेका थिए ।

उक्त प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक त्रिभुवन आर्मी क्लब भलिबल टिमका प्रशिक्षक कपिल किशोर श्रेष्ठ, उत्कृष्ट स्पाईकर गण्डकी प्रदेशका याम क्षेत्री, उत्कृष्ट ब्लकर त्रिभुवन आर्मी क्लबका हरी बहादुर अधिकारी, उत्कृष्ट लिभ्रो त्रिभुवन आर्मी क्लबका ईश्‍वर थापा, उत्कृष्ट लिफ्टर त्रिभुवन आर्मी क्लबका दुर्गा प्रसाद महत्तो र उत्कृष्ट सर्भर नेपाल प्रहरीका कुल बहादुर थापाले पुरस्कार स्वरुप जनही १०/१० हजार नगद प्राप्त गरेका थिए ।

प्रतियोगिता भरिकै सर्वोत्कृष्ट खेलाडी तर्फ त्रिभुवन आर्मी क्लबका भैरव बमले १ सय ६० सिसिको पल्सर मोटरसाईकल प्राप्त गरे ।

उक्त समापन समारोह कार्यक्रममा नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष, नेपाली सेनाका बहालवाला तथा अवकास प्राप्त रथीबृन्दहरु, अन्य सुरक्षा निकायका प्रतिनिधिहरु, नेपाल इन्भेष्टमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत, गोल्छा अर्गनाईजेसनका प्रतिनिधि, विभिन्‍न खेलकुद संघका अध्यक्ष तथा प्रतिनिधिहरु, सञ्चारकर्मीहरुलगायत खेलप्रेमी दर्शकहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.