प्रधानमन्त्रीले २३ मन्त्री र सचिवलाई सिंहदरबारमा किन डाके ?

| 2019 Jul 11 | 01:25 pm 45

काठमाडौं, असार  २६ : प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वटा मन्त्रालय सम्हालेका मन्त्री र सचिवहरुलाई सिंहदरबारमा डाकेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीले आजदेखि २३ मन्त्रालयको प्रगति विवरण माग गरेका छन् । आज विहान ११ः१५ देखि शुरु भएको बैठकमा २३ वटा मन्त्रालयको प्रगति विवरण पेश हुँदैछ ।

‘सचिवहरुबाट कूल २३ वटा प्रस्तुति हुनेछन् । तिनलाई प्रधानमन्त्री ओलीले सुन्नु हुनेछ’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सञ्चार शाखाले भन्यो, ‘आज नसकिए बैठक भोलिसम्म लम्बिने छ ।’

सरकारको अघिल्लो वर्षको नीति तथा कार्यक्रमसँग जोडेर मन्त्रालयको प्रगति कति भयो भन्ने निष्कर्षमा पुग्न प्रधानमन्त्री कार्यालयले मन्त्री तथा सचिवहरुलाई राखेर प्रगति समीक्षा बैठक राखेको हो ।

२३ वटै मन्त्रालयको प्रस्तुतिपछि प्रधानमन्त्रीले मन्त्री तथा सचिवहरुलाई निर्देशन दिने कार्यक्रम छ रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जानकारी दिएको छ । केहीले मन्त्री तथा मन्त्रालयको प्रगति विवरण समीक्षालाई मन्त्रिपरिषद पुनर्गठनसँग समेत जोडेर हेरेका छन् । थोरै प्रगति विवरण रहेका मन्त्रालयहरुमा मन्त्री हेरफेर हुनसक्ने उनीहरुको आँकलन छ ।

पछिल्लो समय सरकारले गरेका धेरै निर्णयहरु विवादमा परेका छन् । यति मात्र होइन मन्त्री र मन्त्रालयका सचिवहरुको काम गराइको तालमेल नमिल्दा बाहिर भ्रमको अवस्था समेत आइरहेको छ ।

अरु मन्त्री मात्र होइन मन्त्रालयले समयमा जानकारी नदिंदा विषादी परीक्षणको विषयमा भारतीय दूतावासले पठाएको पत्रबारे आफूले जानकारी नपाएको स्वयम् प्रधानमन्त्री ओलीले बताएका छन् । आजको प्रगति विवरणमा यी विषयहरुमा पनि प्रधानमन्त्रीले छलफल गर्ने अनुमान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.