प्रदेश नं. १ मा दुर्घटना न्यूनीकरण महाअभियानको दोस्रो चरण सुरु

रिपोर्ट नेपाल | 2019 Mar 14 | 04:45 pm 57

विराटनगर, फागुन ३० : प्रदेश नं. १ मा दुर्घटना न्यूनीकरण महाअभियानको दोस्रो चरण सुरु भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत दुर्घटना न्यूनीकरण महाअभियानको दोस्रो सुरुवात बिहीबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गरेका हुन् ।

दोस्रो चरणको कार्यक्रममा प्रभातफेरी, ट्राफिक सामग्री हस्तान्तरण, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको कार्यालय भवन शिलान्यास र सडक दुर्घटना न्यूनीकरणको १५ दिने अभियान शुभारम्भ गरिएको छ ।

महाअभियान समितिको आयोजना तथा एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयको संयोजनमा बिर्तामोडमा दोस्रो चरणको कार्यक्रम उद्घाटन गरिएको हो । ।

उद्घाटन कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई १० वटा मोटरसाइकल, १० वटा ब्रेथलाइजर, १० वटा ह्वील लक र ७ सय जना चालक तथा सहचालकलाई पोसाक प्रदान गरिएको छ ।

४ मंसिरमा बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा नेपथ्य समूहबाट भव्य साङ्गीतिक कार्यक्रम गराएर दुर्घटना न्यूनीकरण महाअभियान शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई आफ्नो ठानेर मोटरसाइकल, ब्रेथलाइजर लगायतका सामाग्री सहयोग गरेकामा महाअभियान समितिलाई धन्यवाद दिए । ‘स्रोतसाधन कम हुँदा प्रहरीलाई काम गर्न गाह्रो भयो भनेर यी सामाग्री उपलब्ध गराउनुभयो,’ उनले भने, ‘प्राप्त साधनस्रोतको उपयोग गर्दै राम्रो काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्दछु ।

सडकमा प्रहरी उपस्थित नभई पनि समाज सुरक्षित राख्ने लक्ष्यका साथ नेपाल प्रहरीले काम गरिरहेको उनले बताए । विकसित मुलुकहरूमा पनि ट्राफिक जाम र सवारी दुर्घटना हुँदा मात्र प्रहरी सडकमा देखिने गरेको र अन्य घटनामा भने प्रविधिको प्रयोगमार्फत प्रहरीले काम गर्ने गरेको उनले सुनाए ।

प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरी धेरै सचिएको बताए । ‘अब प्रहरीलाई शङ्काको दृष्टिले नहेरे हुन्छ,’ उनले भने, ‘अब हरेक तीन महिनामा सार्वजनिक सुनुवाइ गरिनेछ, नचाहिँदो काम गर्ने प्रहरीले उन्मुक्ति पाउँदैन ।’ नागरिकका लागि जुनसुकै राम्रा काम गर्न प्रहरी तत्पर रहेको उनले बताए । उनले प्रहरीमा साइबर कन्ट्रोल ब्युरो र मानव बेचबिखन नियन्त्रण ब्युरो स्थापना गरिएको जानकारी दिए । महानिरीक्षक खनालले प्रहरी समुदाय कार्यक्रम हरेक स्थानीय तहमा पुर्‍याइने बताए । विद्यालयका पाठ्यपुस्तकमा ट्राफिक नियमहरू समावेश गरिने उनको भनाइ थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.