प्रतिपक्ष निरीह भएकै कारण सत्ताधारीले ब्रम्हलुट मच्चाएः नेता रानाभाट

रिपोर्ट नेपाल | 2020 Oct 06 | 09:19 am 165

काठमाडौं, असोज २०ः नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् पूर्व सभामुख तारानाथ रानाभाटले वर्तमान केपी ओली नेतृत्वको सरकारले जनमतको अपमान गर्दै अत्याचार र भष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाएका छन् ।

मंगलबार रिपोर्ट नेपालसँग संक्षिप्त कुरा गर्दै नेता रानाभाटले दशवर्षे माओवादीको आतंक र २०७२ को भूकम्पले आजित भएका नेपाली जनताको सोझोपनको फाइदा उठाउँदै जनतालाई ६ महिना घरमै थुनेर राज्यको ढुकुटी ब्रम्हलुट गरेको बताएका छन् ।

२०४६ र २०६२ /०६३ को ऐतिहासिक जनआन्दोलनमा राजनीतिक दलका नेतालाई ब्रम्हलुट गर्नका लागि जनता सडकमा आएका होइनन्, जनताले त सुशासन, स्वच्छ प्रशासन र आर्थिक पारदर्शिता चाहेका थिए तर, दुर्भाग्यका साथ भन्नुपर्दा जनताले यतिखेर कुशासन, राज्य आतंक र राज्यको ढुकुटीमाथि सत्तापक्षको बुर्कुसी मारेको टुलुटुलु हेरेर बस्न बाध्य भएको नेता रानाभाटले बताए ।

मुलुकको राजनीति अराजकता तर्फ उन्मुख भएकोमा चिन्ता व्यक्त गर्दै नेता रानाभाटले सरकारले गरेका गलत कृयाकलापलाई सचेत पार्नका लागि प्रमुख प्रतिपक्ष दल चुकेको बताए ।

प्रतिपक्ष दल छ छैन भन्ने कुनै आभाष नपाइएको पनि नेता रानाभाटको भनाई रहेको थियो । सुनौलो नेपाल आफूले देख्न नपाए पनि सन्ततीले त देख्न पाउँलान भनेर २००७ देखि २०६३ सम्म शहादत प्राप्त गरेका महान शहिदको सपनालाई चकनाचुर पर्ने काम सरकारबाट भइरहेको छ ।

समृद्ध नेपाल सुखी नेपालीको मन्त्र जपेर राजधानीका पोलपोलमा आफ्नो फोटो झुण्डाएका प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले श्रमीक जनता भोकले टोलटोलमा आँसुका धारा बगाउँदा बालुवाटारको बेडबाट राज्य संचालन गर्दै जनतालाई भोकले मर्न बाध्य पारिरहेको पनि नेता रानाभाटले आरोप लगाएका छन् ।

कोरोनाको आतंकबाट त्रासित जनता सिटामोल र उपचार नपाएर छटपटाइ रहेका बेला सरकार भने यस्तो बेला पनि चिर निद्रा र कानमा कपास कोचेर भष्टाचारमा तल्लीन रहेको रानाभाटको भनाई रहेको छ ।

नेपाली कांग्रेस भित्रको किचलोको विषयमा राखिएको जिज्ञासामा नेता रानाभाटले पार्टीको कसैलाई चिन्ता नभएको र सबै आ–आफ्ना गुट उपगुटको डम्फू बजाउँदै हिडेको बताए ।

वीपी कोइराला, सुवर्ण शमशेर राणा, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले स्थापीत गरेकाे नेपाली कांग्रेस गिरिजाप्रसाद कोइरालासम्म आइपुग्दा सशक्त भएपनि अहिले हराएको कांग्रेस जस्तो भएको रानाभाटको भनाई रहेको छ ।

नेपालको प्रजातान्त्रिक आन्दोलनको मियो कांग्रेस आज परिवारवाद र फरियावादमा अल्झेको नेता रानाभाटको आरोप छ । प्रतिपक्ष भूमिकामा कांग्रेस निरीह बनेको कारण मुलुकलाई सत्ताधारीले दुहुनो गाई बनाएको पनि नेता रानाभाटको आरोप रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.