काठमाडौं, मंसिर ४ : केपी शर्मा ओलीलाई पाँचै वर्ष प्रधानमन्त्री रहने नेकपा सचिवालय बैठकले निर्णय गरेको छ । बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो ।
अध्यक्ष पुष्पकमल दाहाललाई भने पार्टीको कार्यकारी अधिकार दिइने बैठकले निर्णय गरेको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले प्रचण्डलाई कार्यकारी अधिकार दिने निर्णय भएको जानकारी दिए ।
नयाँ कार्यविभाजन अनुसार अर्का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको रुपमा सरकारको नेतृत्व गर्ने र प्रचण्डले पार्टीको नेतृत्व गर्ने सहमति भएको हो ।
यसअघि साउन अन्तिम साता दुई अध्यक्षबीच कार्यविभाजन गर्ने र त्यसमा एकले सरकारको नेतृत्व र अर्काले पार्टीको नेतृत्व गर्ने सहमति भएको थियो ।
तर, पछिल्लो समय केपी ओलीले पार्टी र सरकार दुवैको अधिकार लिँदा सहमति उल्लंघन भएको भन्दै अर्का अध्यक्ष प्रचण्ड असन्तुष्ट बन्दै आएका थिए ।
नयाँ कार्यविभाजन अनुसार वरियता भने दुई अध्यक्षको वरियता समान हुनेछ । त्यस्तै, आपसी समझदारीका आधारमा निर्णय लिइनेछ ।