‘प्रकाश दाहाल स्मृति भलिबल’ प्रतियोगिता हुने, विजेताले रु ५ लाख पाउने

रिपोर्ट नेपाल | 2019 Aug 29 | 02:59 pm 76

काठमाडाैँ, भदै १२ : प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप भलिबल प्रतियोगिता हुने भएको छ । प्रगतिशील युवा नेपाल (गोरखा–काठमाडौँ)को आयोजनामा यही भदौ २४ देखि २८ सम्म राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो ।

प्रगतिशील युवा नेपालले बिहीबार यहाँ पत्रकार सम्मेलन गरी सर्वाधिक धनराशि पुरस्कार भएको भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा युवा नेपालका अध्यक्ष दीपक थापाले खेलाडीलाई नयाँ ऊर्जा थप्नका लागि खुला भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिए ।

खेलकूदको विकास भएमात्र समृद्ध मुलुक निर्माण हुने भन्दै प्रगतिशील युवा नेपालले खेलकूदको विकासका लागि काम गर्न लागेको उनको भनाइ छ । काठमाडौँ महानगरपालिका–२६ नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेलमैदानमा हुने प्रतियोगिताको विजेता समूहले रु ५ लाख पाउनेछ ।

यस्तै द्वितीय पुरस्कार रु तीन लाख, तृतीय पुरस्कार रु एक लाख, चौथो पुरस्कार रु ५० हजार रहेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल, स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही रु १०–१० हजार हात पार्ने अध्यक्ष थापाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.