पोखरामा मिटरमा जान नमान्‍ने ट्याक्सीलाई कारबाही गरिने

रिपोर्ट नेपाल | 2019 Apr 05 | 09:55 am 46

कास्की, चैत्र २२ बिगत लामो समयदेखि यात्रुलाई ठगी गर्दै आएका पोखराका ट्याक्सी व्यवसायिलाई अव मिटरमा नगए कानुनी कारबाही गर्न थालिएको छ ।

पर्यटकीय नगरी पोखरामा लामो समयदेखि यात्रुलाई जथाभावी रकम लिएर ठगी गरेको भन्दै यस अघिका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख अशोक सिंहले मिटरमा जान नमान्ने ट्याक्सी चालकलाई कारबाही शुरु गरेका थिए ।

एसपी सिंहको कदमलाई चुनौति दिन ट्याक्सी चालकले बाटोमा ट्याक्सी राखेर अवरोध गरेपछि अल्टिमेटम दिएर ट्याक्सी हटाइएको थियो । विभिन्न संघ संस्था र ट्याक्सी समितिको समेत उपस्थितिमा ट्याक्सी मिटरमा चलाउनुपर्ने निर्णय भएको थियो ।

केही समय मिटरमा गुडेका ट्याक्सी फेरि मिटरमा जान नमान्ने गरेको गुनासो आएपछि वर्तमान प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम रानाले कारबाहीको थालनी गरेका छन् ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार पोखरामा मिटरमा ट्याक्सी संचालन नगरेका ट्याक्सी माथि कारवाही हुँदा पनि ट्याक्सी चालकको ठगी धन्दा भने कायमै रहेको छ ।

कारबाही गर्दा समेत मिटरमा नगई यात्रु ठगेको उजुरी परेपछि सादा पोसाकका प्रहरीलाई खटाई अनुगमन गर्ने काम भइरहेको छ । जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख मुरारी मिश्रका अनुसार मिटरमा जान नमान्ने ट्याक्सीलाई नियन्त्रणमा लिई कारबाहीका लागि सम्बन्धीत निकायमा पठाइएको छ । पर्यटकीय नगरी पोखरामा दिनदहाडै यात्रुलाई ठगी गर्ने ट्याक्सी चालकलाई अव मिटरमा नगए हदैसम्मको कारबाही गर्ने पनि मिश्रले बताए ।

यात्रा गर्दा मिटरमा जान नमान्ने ट्याक्सीको नम्बरसहित १०० र १०३ मा सम्पर्क गर्न पनि प्रहरीले यात्रुसँग आग्रह गरेको छ ।

एक जना यात्रुलाई अपमान गरेका चालक अनिल गुरुङलाई थुनामा राखेपछि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओम रानाको निर्देशनमा ट्याक्सी मिटरमा संचालन गर्ने अभियान शुरु भएको छ ।

एसपी रानाले कोही यात्रु बढी भाडा तिरेर ठगीएमा तिरेको रकमसहित गाडी नम्बर प्रहरीलाई टिपाएमा प्रहरीले ट्याक्सीलाई कारवाही गर्ने र तिरेको रकम फिर्ता गराउने बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.