पूर्व आयुक्त पाठकलाई घुस रकम बराबरकै धरौटी माग

रिपोर्ट नेपाल | 2019 May 15 | 06:49 pm 64

काठमाडौं,  जेठ १ : भ्रष्टाचारको झेलिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकसँग विशेष अदालत घुस बराबरकै ७८ लाख धरौटी माग गरेको छ ।

अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्धारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासले पाठकसँग ७८ लाख धरौटी माग गरेको हो । पाठक बुधबार विशेष अदालतमा हाजिर भएका थिए ।

पाठकले आफुले ७८ लाख लिएको भन्ने कुरा सरासर झुठो भएको समेत बताएका छन् ।  विषेष अदालतमा बयानका लागि हाजिर भएका उनले भने, मैले ७८ लाख लिएको कुरा झुठो हो, यसमा मलाई नियतबस फसाइयो ।’

अख्तियार दुरुपयोेग अनुसन्धान आयोगका पूर्वआयुक्त पाठकले भक्तपुरको नेपाल इन्जिनियरिङ क्याम्पसको विवाद मिलाइदिने भन्दै ७८ लाख घुस लिएको सार्वजनिक भएपछि राजीनामा दिएका थिए । पाठकमाथि सत्तारुढ दल नेकपाले महाभियोग लगाउने तयारीसँगै उनले गत फागुन ३ गते राष्ट्रपति समक्ष राजीनामा दिएका थिए ।

इन्जिनियरिङ कलेजको स्वामित्व विवाद सल्टाइदिने भन्दै कलेज सञ्चालक समितिका एक समूहसँग ७८ लाख रुपैयाँ घूस लिएको समाचार सार्वजनिक भएपछि उनी नैतिक दवावमा परेका थिए । २०७४ भदौमा पाठकले अध्यक्ष सो समूहसँग दुई पटक गरी सो रकम लिएका थिए ।

पूर्व आयुक्त पाठकले घूस लिएर पनि काम नभएपछि पैसा फिर्ता लिनका लागि घुस दिनेहरुले उनलाई घुस दिएको विषयमा कुरा गर्दै पैसा फिर्ता मागेको भिडियो बनाएका थिए । आयोगका पूर्व प्रमुख आयुक्त लोकमानसिंह कार्कीको पालामा पाठकले आयोगको सदस्यमा नियुक्ति पाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.