पुलको शिलान्यास गरेर फर्केका मन्त्री खोलामा डुब्याे

रिपोर्ट नेपाल | 2019 Jun 10 | 08:47 pm 252

स्याङ्जा, जेठ २७ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी अर्जुन चौपारी–३, घट्टे दरौ खोलामा फसेको छ ।

साेमबार अर्जुन चौपारी गाउँपालिका–३ स्थित रहेकाे सहरे खोला पुलको शिलान्यास गरेर फर्केने क्रममा मन्त्रीको गाडी खोलामा पुल नभएकै कारणले फसेको हो ।

मन्त्री सवार बा २ झ ४०२९ नम्बरको गाडी खोलामा आधा डुबे पनि सुरक्षाकर्मीको सहयोगमा मन्त्री महासेठलाई बाहिर निकालिएको थियो ।  खोला तर्ने क्रममा गाडी डुबे पनि मन्त्री भने सकुशल रहेका छन् । खोलामा डुबेको कारलाई क्रेनको साहेताले  बाहिर निकालिएको थियाे ।

मन्त्रीका गाडी चालकलाई ग्रामीण सडकको बारेमा राम्रोसँग जानकारी नहुँदा उक्त दुर्घटना हुन पुगेको सहभागीहरूकाे  बुझाइ रहेकाे छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले शिलन्यास कार्यक्रमलाई सम्बाेधन गर्दै सरकारको अबको एजेण्डा विकास भएकाेले  विकास निर्माणमा टुटेर नभई सबै जुट्नु पर्ने बताए ।

चुनावकाे बेलामा गरेका वाचालाई पूरा गर्न लागेको बताउँदै मन्त्री महासेठले सरकारले ल्याएको बजेटबाट नागरिकले राम्रोसँग जानकारी पाइसकेको जनाए ।
अहिलेको बजेटमा देशभरका ८० सडकलाई प्राथमिकतामा राखेको बताउँदै मन्त्री महासेठले स्याङ्जाको सेतिदोभान–घण्टे–पर्वत सडक र वालिङ–बारिकुना–चापाकोट–रामपुर सडक परेको जानकारी दिए ।

सरकारले स्याङ्जालाई विशेष ढंगले हेरेको बताउँदै मन्त्री महासेठले सिद्धार्थ राजमार्गलाई चार लेनको बनाउन लागेको बताए । कार्यक्रममा मुख्य सचिव लोकदर्शन रेग्मीले पुललाई चाँडो निर्माण गरेर सुरु गर्न आग्रह गरेका छन् ।

गाउँ गाउँमा सडक सञ्जाल जाेड्न सके आर्थिक बिकासमा टेवा पुग्ने बताउँदै मुख्य सचिव रेग्मीले आफू स्याङ्जाको भएकाले यहाँको विकासमा सधैँ सहयोग गर्ने बताउए । सडक डिभिजन कार्यालय पोखराले निर्माण गर्न लागेको पुल अर्जुन चौपारी–३ हँदै आँधीखोला–१ जोड्ने मार्ग हो ।

पुल तीन करोड सात लाख सात हजार ५ सय १० रुपैयाँमा निर्माण हुन लागेको हो । डेढ वर्षमा निर्माण सक्ने गरी जीएसआर निर्माण सेवा पोखराले काम थालेको डिभिजन प्रमुख हरिप्रसाद पोखरेलले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.