पार्टी एकता छिटाे टुङ्ग्याउनुपर्छ

रिपोर्ट नेपाल | 2019 Jun 18 | 05:34 pm 102

भीम रावल
स्थायी समिति सदस्य नेकपा

नेकपा एमाले र माओवादीबीचको पार्टी एकता पछि पनि स्थायी समिति सदस्यका रुपमा रहेका नेता भीम रावल प्रष्ट  वक्ताका रुपमा परिचित छन् । आफूलाई चित्त नबुझेको कुरा पेटमा राख्न नसक्ने र राष्ट्रवादका लागि कसैसँग सम्झौता गर्न नसक्ने नेता भीम रावललाई पछिल्लो समय पार्टी पंतीमा ओझेलमा पार्न खोजिए पनि सच्चा राष्ट्रवादी नेपालीको भने उनी मन मनमा बस्न सफल भएका छन् । नेता रावलसँग पार्टी एकीकरणलगायत देशका समसामयिक विषयमा गरिएको कुराकानीको सम्पादीत अंश प्रस्तुत गरिएको छ ।

तपाईका अभिव्यक्ती स्टाटस हेर्दा नेपालको राष्ट्रियता खतरामा परेको आभास पाइन्छ त्यस्तो भएको हो र ?
हाम्रो पार्टीले आफ्ना दस्तावेज, घोषणापत्र सबै कुरामा राष्ट्रियतालाई बलियो बनाउने भनेर उल्लेख गरेका छौं । नेपाली कम्युनिस्टको इतिहासमा गाउँ, प्रदेश हुँदै केन्द्रमा दुई तिहाई मत प्राप्त गरेर सरकार बनाएका छौं । यस्तो बलियो शक्तिशाली सरकार र जनमत प्राप्त भएका समयमा हामीले राष्ट्रियतालाई बलियो बनाउनु पर्छ । विधि र विधानमा जे भनिन्छ त्यो अनुसार व्यवहारमा पनि उतार्नु पर्छ भन्ने मेरो मान्यता हो । दुई तिहाई मत प्राप्त यो सरकारले असमान सन्धी सम्झौताहरु पनि खारेज गर्नु पर्छ आजसम्म हामीले यही आवाज उठाउँदै आएका थियौं अव त्यो पूरा गर्नुपर्छ ।

तपाईले जसरी भन्नुभयो सरकारले यी कुरालाई उठाएको छैन र ?
तपाईले सही प्रश्न गर्नुभयो । सरकारले घोषणा पत्र र हामीले आजसम्म जनतासँग गर्दै आएका प्रतिबद्धता अनुरुप काम नभएकोले मैले आवाज उठाउँदै आएको हुँ । हाम्रा छिमेकी मुलुक भन्नु हुन्छ कि समुन्द्रपारीका मुलुक ती सबैले आफ्नो पहिलो एजेण्डा राष्ट्रियता बनाएका छन् । हाम्रो जस्तो भू–राजनीति भएको देशले त झन यी कुरालाई अत्यन्तै गम्भीरताका साथ ध्यान दिनुपर्छ ।

तपाईले सरकारको बिरोध गर्नुको पछाडि नेतृत्वले पेलेर हो भनिन्छ नि सत्य हो र ?
तपाईको यो प्रश्न गलत हो । म पार्टीको जिम्मेवार ठाउँमा छु । गृह, रक्षा जस्ता मन्त्रालयको नेतृत्व पनि सम्हालीसकको छु । मेरो बिरोध होइन मैले त कम्युनिस्ट पार्टीको हातमा सत्ता आएको बेला यो अवसरको पूर्ण रुपमा उपयोग गरेर देशलाई बलियो बनाउनु पर्छ भन्ने मात्रै मेरो मान्यता हो । अहिले मलै उठाएको विषय मेरो निजि विचार होइन, हिजो पार्टीले जनतासँग बोलेका कुरालाई कार्यान्वयन गर्न मुखरित मात्रै गरेको हुँ भन्ने बुझ्न जरुरी छ ।

तपाईले भनेझै गर्न सरकारलाई प्राविधिक कठिनाई होला नि ?
देश र जनतालाई केन्द्र बिन्दुमा राखेर अघि बढ्नु पर्छ त्यसो गरियो भने जस्ता कठिनाई पनि सफलतामा परिणत हुन्छन् । राष्ट्रि हितको पक्षमा स्पष्ट सोच र दृष्टिकोण राख्दा के अप्ठ्यारो पर्छ ?

तपाईले राष्ट्रियताको खुबै कुरा गर्नुहुन्छ, सरकारले नागरिकताको विषयमा ल्याएको नियम कानुनलाई तपाई के भन्नु हुन्छ ?
नागरिकता प्राप्त गर्ने कुरालाई खुकुलो पार्ने कुराको म कडा आलोचक हुँ । नागरिकता प्राप्त गर्ने कुरालाई खुकुलो बनाउँदा ठूलो राष्ट्रघात हुन्छ । भारतमा बाहिरका महिला विहे गरेर गए भने नागरिकता प्राप्ती गर्न दिएको आवेदनपछि सात वर्ष लाग्छ । हामीले चाही भोलिपल्टै दिनुपर्छ भन्ने के छ ?

प्रसंग बदलौं पार्टी एकीकरणको काम यसरी अड्कीनुको खास कारण के होला ?
तपाईले सोधेको प्रश्न मैले पनि बारम्बार उठाइरहेको छ । पार्टी एकीकरणको काम जति ढिलो हुँदै गएको छ त्यति पार्टी र सरकारलाई घाटा भइरहेको छ । हामीले पटक पटक दिन कटानी गर्दै गयौं समय घर्किदासम्म पार्टी एकीकरणको सम्पूर्ण प्रकृया पूरा गर्न सकेका छैनौं । यसरी विलम्ब हुनुका पछाडि जिम्मेवारी लिएका नेताले पर्याप्त समय नदिएकोले हो जस्तो लाग्छ ।

तपाईले जसरी एकीकरणको काम टुङ्ग्याउनु पर्छ भन्दै हुनुहुन्छ अरु नेता किन मौन हुनुहुन्छ त ?
कहाँ मौन हुनु सबैले नेतृत्वको ध्यानाकर्षण गराइरहनुभएको छ । कतिले भीम रावल असन्तुष्ट भएर बोल्छ पनि भन्छन् होला । तर त्यो कसैले सोचेको छ र भन्छ भने गलत हो । म असन्तुष्टी भएर बोलेको पटक्कै होइन । पार्टीका घोषीत नीतिहरुको जुन विलम्ब भइरहेको छ त्यो गलत हो मात्रै भनेको हुँ ।

तपाईले एकीकरण छिटो टुङ्ग्याउन भन्दै हुनुहुन्छ तपाई पनि त नेकपाको नेता हो नि यो कमजोरी तपाईको पनि त हो नि होइन र ?
तपाईले भनेको ठिकै हो म नेकपाको नेता हुँ । जसले जे कुरामा जिम्मा लिएको छ त्यसले आफ्नो जिम्मेवारी उचित समयमा पूरा गर्नुपर्छ भन्ने मेरो मान्यता हो । एकीकरणमा मेरो कारणले विलम्ब भएको छ भने के हो म तुरुन्त सुधार गरेर अघि बढ्न तयार छु ।

जिल्ला दौडाहामा निकै व्यस्त हुनुहुन्छ के सन्देश पाउनु भयो ?
म जुन जुन ठाउँमा पुगे त्यहाँका कार्यकर्ताहरुमा निरासा पाएँ । पार्टी एकतामा जुन विलम्ब भएको छ र जिम्मेवारी बाँडफाँड गरिएको छैन यसले कार्यकर्तामा असन्तुष्टी छाएको छ । एकता हुँदा जुन उत्साह र उमंग थियो त्यो अहिले सेलाएको छ । कार्यकर्ताको प्रष्ट माग के छ भने नेतृत्वले छिटो भन्दा छिटो वडा तहसम्मको एकताको टुङ्गो लगाउनु पर्छ र जिम्मेवारी बाँडफाँड गर्नुपर्छ ।

कार्यकर्ताको असन्तुष्टीलाई सम्बोधान नभए के होला जस्तो लाग्छ ?
जुन कार्यकर्ताको अथक प्रयासले नेपालमा पहिलो पटक कम्युनिस्टले सानदार मत सहितको नेतृत्व गरेको त्यो भोली गुम्न सक्छ । नेतृत्वले एउटा घामले जाडो जाँदैन भन्ने बुझ्न जरुरी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.