पर्वतको सामुदायिक रेडियो स्टेसनमा आगालागी

रिपोर्ट नेपाल | 2019 Jun 12 | 09:18 am 81

पर्वत, जेठ २९:  पर्वतको सामुदायिक रेडियो ‘रेडियो पर्वत’मा गए राति आगालागी भएको छ ।

मंगलबार राति करिब १ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी हुँदा सम्पूर्ण मेसिनहरु जलेर नष्ट भएका छन् भने घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागीबाट रेडियोको ट्रान्समिटरमा समेत क्षति पुगेको छ भने सात कम्प्युटर, दुई मिक्सचर, हाइब्रिड, टेलिभिजनलगायतका सामग्री पूर्णरूपमा नष्ट भएको रेडियोका स्टेशन म्यानेजर शङ्कर शर्माले जानकारी दिए ।

आगलागी भएपछि बिहानदेखि रेडियोको सबै प्रसारण ठप्प भएको छ । त्यहाँ रहेका कुनै पनि सामान काम नलाग्ने भएकाले बन्द गर्नुको विकल्प भन्दा अरु नभएको शर्माले बताए । उनका अनुसार आगलागी भएपछि स्थानीयवासी र प्रहरीको सक्रियतामा राति २ बजे आगो नियन्त्रणमा लिइएको थियो ।

विद्युत् जडान गरिएको स्वीचमा समस्या आएका कारण पूर्णरूपमा क्षति पुगेको अनुमान गरिएको छ । आगलागीबाट रेडियो सञ्चालित घरका तीन कोठामा समेत क्षति पुगेको छ । आगलागीबाट अन्दाजी ३० लाखभन्दा बढीको क्षति भए पनि यकिन विवरण भने आइनसकेको शर्माले जानकारी दिए । तत्काल थाहा पाएका कारण कुनै मानवीय क्षति हुन भने नपाएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.