पर्वतका एसइइ दिने छात्राले पाउँने भए सेनेटरी प्याड

| 2019 Mar 13 | 01:14 pm 42

पर्वत, फागुन २९ : शैक्षिक अभियानको फलामे ढोकाको रुपमा हेरिने एसइइ परीक्षामा सम्मिलित छात्रालाई पर्वतमा सेनेटरी प्याड वितरण गरिने भएको छ । अध्ययनरत छात्रा विद्यालयमा महीनावारी भएपछि रगताम्मे हुने र त्यसको कारण विद्यालयमा नजाने र विद्यालय छोड्ने गरेको कुरालाई मध्यनजर गर्दै गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले पर्वतमा सेनेटरी प्याड वितरण गर्ने भएको हो ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका महिला अधिकृत गोमा वाग्लेले अनुसार प्राकृतिक नियमानुसार छात्रामा हुने महीनावारीलाई सहजरुपले व्यवस्थापन गरी परीक्षामा सहभागी गराउन यस्तो कार्यक्रम अघि सारिएको बताइन् ।

चैत १० गतेदेखि शुरु हुने एसइइ परीक्षामा पर्वतमा दुई हजार ८ सय ७४ विद्यार्थी सहभागी हुँदैछन् । सामाजिक विकास मन्त्रालयले छात्रा सङ्ख्याको अनुपातका आधारमा सेनेटरी प्याड खरीदका लागि जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ पर्वतलाई १३ हजार रकम बराबरको चेक प्रदान गरेको छ ।

चेक रकम ग्रहण गर्दै जिल्ला शिक्षा समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर पौडेलले छात्रा परीक्षार्थीका लागि सामाजिक विकास मन्त्रालयले प्रशंसनीय सहयोग गरेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.