पन्ध्र वर्षीया किशोरीले दिइन्, विद्यालयलाई प्याड

रिपोर्ट नेपाल | 2019 Mar 13 | 12:57 pm 92

  • महेन्द्र पाण्डेय

मकवानपुर स्थायी ठेगाना भएर काठमाडौं किर्तिपुरमा बसोवास गर्दै आएकी पन्ध्र वर्षीया किशोरी रोज भण्डारीले राजधानीको एक सामुदायिक विद्यालयलाई महिनावारी हुँदा प्रयोग गर्ने प्याड दिएर प्रशंसनीय काम गरेकी छन् ।

मध्य बानेश्वरमा रहेको रत्नराज्य माध्यमिक विद्यालयलाई मंगलबार एक क्लबको स्थापना गरी ति किशोरीले प्याड हस्तान्तरण गरेकी हुन् । समाजसेवा गर्नका लागि उमेर होइन इच्छाशक्ति चाहिन्छ भन्ने ज्वलन्त उदाहरण यि किशोरीले दिएकी छन् ।

आफ्ना बाबु माधवप्रसाद भण्डारीले तामझामसहित लाखौं रुपैयाँ खर्चेर गुन्यूचोली दिने कार्यक्रमलाई अस्वीकार गरी उक्त रकम समाजसेवामा लगाउँने प्रस्ताव गर्दा भण्डारी दंग परेका थिए ।

पन्ध्र वर्षको रमाइलो गर्ने उमेरमा छोरीले त्यस्तो प्रस्ताव गर्दा आमा बुबा खुशी हुनु स्वभाविक पनि हो । पन्ध्र वर्षीया रोजलाई महिनावारी हुँदा लगाउँने प्याड नै दिन कसरी आयो त ? रोजले कक्षा ८ मा पढ्दा त्यस बेला कक्षा ६ मा पढ्ने श्रेया रुसाल भन्ने किशोरीको विद्यालयमै महिनावारी भयो ।

पहिलोपटक भएका कारण उनी आत्तिएर रोजलाई भनिछन् । रोज त्यसबेला महिनावारी हुँदा प्रयोग गर्ने सामाग्रीबारे जानिफकार भएका कारण होस्टेलमा गएर म्यामसँग प्याड मागेर दिइन् ।

त्यसै दिनदेखि उनको दिमागमा आकस्मिक रुपमा हुने महिनवारीका कारण कैयौं किशोरी विद्यालय नआउने र विद्यालयमा भइहाले रगताम्य भएर हिड्नुपर्ने कुरालाई अन्त्य गर्ने सोच बनाएकी थिइन् ।

आफ्नो गुन्यूचोली कार्यक्रम नगरी बचाएको पैसा उनले सामुदायिक विद्यालयलाई प्याड निशुल्क दिने निर्णय गरिन । आफूले गरेको निर्णय आमा मार्फत बुबालाई सुनाएपछि रोजको सपना पुरा हुने भयो । समाज सेवा भनेको भाषण र आश्वासन होइन, परिणाम हो भन्ने शन्देस किशोरी रोजले दिएकी छन् ।

समाज सेवाका नाममा मेवामा रमाउने कथित समाजसेवीलाई रोजको निर्णयले झापड दिएको छ । पन्ध्र वर्षको कलिलो दिमागले ज्यादै अर्थ राख्ने काम गरेर उनी थुप्रै पीडित किशोरीको वाहीवाहीको पात्र भएकी छन् । किशोरीहरु लजालु हुन्छन् उनीहरुले आफ्नो समस्या दबाएर नराखुन भनेर रत्नराज्य माध्यमिक विद्यालयलाई छानेको रोजको भनाई छ ।

भविष्यमा पनि समाज सेवा गर्ने अठोट लिएकी पन्ध्र वर्षीया रोज भन्छिन् समाजमा जिवित रहेर पनि मरेतुल्य सरी बाँचेको मान्छे पनि छन् तर आफू मरेपछि पनि जिवित रहिरहने काम गर्छु ।

यति सानो उमेरबाटै समाज सेवाको प्रण गरेकी रोज अहिले कलंकीमा रहेको ज्ञानकुञ्ज सेकेन्डरी स्कुलमा कक्षा १० मा अध्ययन गर्छिन् । रोजले निशुल्क प्याड दिने घोषणासँगै रत्नराज्य माध्यमिक विद्यालयमा संघिय संसदका सभामुख कृष्णबहादुर महराले एक भब्य समारोहकाबीच रोज बहिनी किशोरी क्लबको उद्घाटन गरेका छन् ।

किशोरी रोजको अभियान जति प्रशंसनीय छ त्यो भन्दा बढी उनको भावी यात्राको पनि उत्तिकै प्रशंसनीय छ । स्याबास रोज तिम्रो यो महान कार्यलाई रिपोर्ट नेपाल डिजिटल पत्रिका पनि सम्मान गर्न चाहान्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.