पत्रकारिताको त्यो कालखण्ड, सम्झनामा जनार्दन दाइ

| 2021 Jan 20 | 09:22 am 257

  • बबिता बस्नेत

‘जनार्दन दाइको बारेमा थाहा पायौ ?’ यही ०७७ साल पुस २९ गते दिउँसो साथी यशोदा तिम्सिनाले टेलिफोनमा सोधेपछि उहाँ रहनुभएन होला भनेर अन्दाज गर्न गाह्रो भएन । अचम्मै भयो, तीन दिनअगाडि मात्रै उहाँ मेरो ‘माइन्ड’मा आउनुभएको थियो । म एउटा सामग्री सम्पादन गरिरहेकी थिएँ, भाषा यति विरक्तलाग्दो थियो कि जनार्दन दाइ भए सीधै डस्टबिनमा हालिदिनुहुन्थ्यो भन्ने लागेको थियो । कम्प्युटरको सामग्री प्लास्टिकको डस्टबिनमा नहाले पनि कम्प्युटरकै रिसाइकलबिन काफी थियो । तर, म त्यसलाई बनाउने कोसिस गरिरहेकी थिएँ । जनार्दन दाइ जानकारी र भाषा नमिलाई लेखिएका बोझिला सामग्रीलाई सीधै डस्टबिनमा हालिदिनुहुन्थ्यो ।

०४७ सालको जेठ महिनामा म रिपोर्टरको रूपमा ‘नेपाली पत्र’मा जाँदा कमल जोशी प्रकाशक भएको नेपाल छापाखानाबाट दुईवटा पत्रिका निस्किन्थे, साप्ताहिक आवाज र नेपाली पत्र । नेपाली पत्र दैनिक थियो । त्यतिबेला अहिलेजस्तो दैनिक पत्रिका नभएका बेला नेपाली पत्र निकै पढिने पत्रिका थियो । जसको प्रधान सम्पादक पदम ठकुराठी हुनुहुन्थ्यो । साप्ताहिक आवाजको त झन् कुरै भएन, ०४६ सालको प्रजातन्त्रअघि मिसन पत्रकारितामा जल्दोबल्दो साप्ताहिक थियो । साप्ताहिक आवाजमा बलदेव थापा प्रधान सम्पादक हुनुहुन्थ्यो भने पदम ठकुराठी अतिथि सम्पादक हुनुहुन्थ्यो । यी दुवै अखबारमा जनार्दन आचार्य, हरि अधिकारी, श्री आचार्य, गोविन्द वर्तमान, हस्त गुरुङलगायतले काम गर्नुहुन्थ्यो । भर्खरै सुरु गरेका रिपोर्टरहरूका समाचार नेपाली पत्र दैनिकमा जान्थ्यो, राजेश घिमिरे नयाँ रिपोर्टर थिए, उनको समाचार खुब छापिन्थ्यो । साप्ताहिक आवाजमा त प्रायः स्तम्भ र विचार-विश्लेषणहरू नै जान्थे ।

०४७ सालको साउन महिनाको पहिलो हप्ता उक्त पब्लिकेसनमा विपत् झैँ आइलाग्यो । साप्ताहिक आवाज शुक्रबार निस्कन्थ्यो । नेपाली पत्र दैनिक भए पनि शुक्रबारदेखि एक्कासि रोक्कियो । आइतबार, सोमबार, मङ्गलबारसम्म पत्रिकाको एउटा टिम नै कार्यालय आएन । लगनटोलस्थित कार्यालयमा पदम ठकुराठी, जनार्दन आचार्य, कमल जोशी (कमल जोशीको घरमा कार्यालय थियो) र म मात्रै कार्यालय जान थाल्यौँ । के भएको थियो सुरुमा त मैले केही पनि बुझिनँ ।

‘म एउटा निश्चित मिसनका लागि पत्रकारितामा आएको थिएँ, पूरा भयो अब पत्रकारिताबाट बिदा लिन्छु’ भनेर सार्वजनिक मन्तव्य राखी पदम ठकुराठी पत्रकारिताबाट बिदा हुनुभएको थियो ।

पछि थाहा पाएँ- बलदेव थापाको नाममा भएको नेपाली आवाज लिएर एउटा टिम नै गएपछि पब्लिकेसनमा सङ्कट आएको रहेछ । वर्षौंदेखि निकालिरहेको पत्रिका लिएर गएपछि के गर्ने, के गर्ने हुनु स्वाभाविक नै थियो । बुधबार कमल जोशी, पदम ठकुराठी र जनार्दन आचार्यले सूचना विभागमा नेपाली पत्र दैनिकलाई साप्ताहिकका रूपमा दर्ता गरेर आउनुभएछ । थाकेको स्वरमा खुइय्य गर्दै जनार्दन आचार्यले ‘खै आज बुधबार भइसक्यो भोलि एक दिनमा कस्तो पत्रिका निकाल्ने हो ?’ भनेको अहिले पनि सम्झिन्छु । सोही दिन पदम ठकुराठीले एमालेका तत्कालीन नेता जीवराज आश्रितको अन्तर्वार्ता लिएर भोलिपल्ट मलाई सार्न दिनुभयो । जीवराज आश्रितका निम्ति जीवनमा त्यो नै पहिलो अन्तर्वार्ता रहेछ ।

नेपाली पत्र साप्ताहिकको पहिलो अङ्कमा प्रकाशित उक्त अन्तर्वार्ता मैले मेरो पत्रकारिताको करिअरमा सारेको पहिलो अन्तर्वार्ता थियो । उक्त अन्तर्वार्ता सार्ने क्रममा मैले अन्तर्वार्ता कसरी लिनुपर्दोरहेछ भन्ने थाहा पाएकी थिएँ । जे होस्, त्यस्तो सङ्कटबीच पनि शुक्रबार नेपाली पत्र साप्ताहिकका रूपमा प्रकाशित भयो । उता फुटेर गएको नेपाली आवाज पनि शुक्रबार नै प्रकाशित भयो । साप्ताहिक मञ्च, विमर्श, नेपाली आवाज, नेपाली पत्र यी सबै पत्रिका शुक्रबार प्रकाशित हुनुमा फुटको इतिहास जोडिएको छ, फुटेर जानेले पनि यथासमयमा पत्रिका निकाले, रहनेले पनि निकाले । त्यतिबेला जिल्ला सम्वादताताहरूले कुरियर गरेर पठाउने समाचारहरू पनि बन्द भए भनेर उहाँहरूले कुरा गरेको म अहिले पनि सम्झन्छु । तर, वीरगञ्जका गोपाल गिरीको साथ भने सधैँ पदम ठकुराठी र जनार्दन आचार्यको टिमलाई रह्यो ।

गोपाल दाइ कार्यालयमा आउँदा हामी सबै खुसी हुन्थ्यौँ । हँसिलो अनुहारबीच उहाँको उपस्थिति भव्य लाग्थ्यो । गोपाल गिरीका छोरा गिरीश गिरी अहिले पत्रकारितामा चर्चित छन् । गिरीशले पनि केही समय नेपाली पत्रमा काम गरे । सबैको राम्रो सोच्ने गोपाल गिरीजस्तो व्यक्तित्वलाई माओवादीले हत्या गर्‍यो । माओवादी ज्यादतीको प्रसङ्ग आउँदा गोपाल दाइको अनुहार झलझली अगाडि आउँछ ।

नेपाली पत्र साप्ताहिकको प्रधान सम्पादकका रूपमा पदम ठकुराठीले सम्पादकीय लेख्नुहुन्थ्यो, अन्तर्वार्ता पनि उहाँले नै लिनुहुन्थ्यो । जनार्दन आचार्यको त्यतिबेलासम्म प्रिन्ट लाइनमा नाम थिएन । ‘समय-समय’ भन्ने स्तम्भ चर्चित थियो । मुख्य समाचार सधैँ जनार्दन दाइले लेख्नुहुन्थ्यो । एकजना मात्रै रिपोर्टर भएकाले मैले सुरुदेखि नै महत्वपूर्ण समाचारहरू लेख्ने, अन्तर्वार्ता लिनेजस्ता जिम्मेवारी पाएँ । पहिलाकै टिम रहेको भए त्यति ठूलो पब्लिकेसनमा महत्वपूर्ण जिम्मेवारीहरू पाउन समय लाग्न सक्थ्यो । हरि अधिकारीका कारणले म पत्रकारितामा आएँ, तर पत्रकारिताको कखरा भने जनार्दन आचार्य र पदम ठकुराठीले सिकाउनुभयो । त्यसको करिब एक वर्षपछि पदम ठकुराठीले पत्रकारिता छोड्नुभयो ।

गोथे इन्स्टिच्युटमा भएको प्रजातन्त्रका लागि योगदान पुर्‍याएका पत्रकारहरूको सम्मान कार्यक्रममा ‘म एउटा निश्चित मिसनका लागि पत्रकारितामा आएको थिएँ, पूरा भयो अब पत्रकारिताबाट बिदा लिन्छु’ भनेर सार्वजनिक मन्तव्य राखी पदम ठकुराठी पत्रकारिताबाट बिदा हुनुभएको थियो । समयक्रममा राजाराम श्रेष्ठ, तीर्थ कोइराला, राजकुमार रेग्मी, कुसुम भट्टराई, मुकुन्द दाहाल, मदन श्रेष्ठलगायतका साथीहरूसँग काम गर्ने मौका मिल्यो ।

पदम ठकुराठीले पत्रकारिता छोडेपछि नेपाली पत्रको प्रधान सम्पादक जनार्दन आचार्य बन्नुभयो । समाचारका स्रोतहरूसँग कसरी ‘डिल’ गर्ने भन्ने कुरा मैंले जनार्दन दाइबाटै सिकेकी हुँ । सम्पादकलाई त्यतिबेला अहिलेझैँ ‘सर’ भन्ने चलन थिएन, हामी दाइ नै भन्थ्यौँ । समाचार स्रोतहरू प्रायः मन्त्री, राजनीतिक दलका महत्वपूर्ण ओहोदामा रहेका व्यक्तित्वहरू, सुरक्षा क्षेत्रका उच्च अधिकारीहरूलगायत हुन्थे । तैपनि उहाँले एउटै विषयमा धेरैलाई फरक-फरक तरिकाले त्यही कुरा सोध्नुहुन्थ्यो । अहिले देवप्रकाश त्रिपाठीजीले त्यस्तै गरेको देख्छु ।

जनार्दन दाइ प्रायः प्रिन्ट पेपरमा रातो पाइलट पेनले लेख्नुहुन्थ्यो । कमल जोशीले एकैपल्ट दर्जन नै पाइलट पेन किनेर राख्नुहुन्थ्यो । शुक्रबार पत्रिका निस्किने हुँदा बिहीबार हामी अबेलासम्म काम गथ्र्यौं । प्रत्येक बिहीबार कार्यालयमै खाना खान्थ्यौँ । खाना खाँदै गर्दा जनार्दन दाइसँग बोल्न पाइन्थ्यो । अरूबेला उहाँसँग आँखा जुधाएर बोल्ने भनेको धेरै ठूलो कुरा हुन्थ्यो । कुनै समाचारमा नाम राखिदिए हुन्थ्यो जस्तो लाग्थ्यो, तर बाइलाइन नै नराखिदिने । एक दिन समूहमा खाना खाँदै गर्दा आफ्नो समाचारमा नाम आउला कि भनेर मैले ‘यसपटकको मेरो समाचार राम्रै छ’ भनेँ । तर, उहाँले नसुनेझैँ गर्नु भो । ०४७ सालको मङ्सिर २० गते अरू बेलाजस्तै मैले लेखेको हो भनेर सन्तुष्टि लिनलाई आफूले लेखेको समाचार हेर्न लाग्दा म छक्क परेँ । समाचारमा मेरो नाम थियो र त्यो नारायणगोपालको मृत्युको समाचार थियो । मैले प्रज्ञा भवनदेखि आर्यघाटसम्म फलो गरेर उक्त समाचार बनाएकी थिएँ । कतिसम्म मिहिनेत गर्‍यो भने बाइलाइन आउँछ भन्ने कुरा उहाँले जानकारी दिलाउनुभएको थियो जस्तो लाग्छ ।

०४७ सालको मङ्सिर २० गते अरू बेलाजस्तै मैले लेखेको हो भनेर सन्तुष्टि लिनलाई आफूले लेखेको समाचार हेर्न लाग्दा म छक्क परेँ । समाचारमा मेरो नाम थियो र त्यो नारायणगोपालको मृत्युको समाचार थियो ।

पछि समकालीन साप्ताहिकको प्रकाशनसँगै उहाँले नेपाली पत्र छोड्नुभयो । त्यसपछि जनार्दन दाइसँग त्यति भेट भएन । तर, पत्रकारिताका सुरुवाती दिनमा जनार्दन आचार्य र पदम ठकुराठीले सिकाउनुभएका कुराहरू म कहिल्यै बिर्सन्नँ । उहाँहरू दुवैजना राजनीतिक पृष्ठभूमिबाट आउनुभएको थियो । राजनीति गर्ने क्रममै पदम ठकुराठी, जनार्दन आचार्य, वैकुण्ठनारायण प्रधान, डिबी शेरचन, जीवन आचार्य, जनक कार्की, जनक जंगली यी सातजनाले सप्तकोसी छापाखाना दर्ता गरी साप्ताहिक मञ्चमार्फत मिसन पत्रकारिताको छुट्टै आयाम निर्माण गर्नुभएको थियो ।

नवभारत टाइम्स, टाइम्स अफ इन्डिया र दिनमान पढ्नका लागि न्युरोड पुग्ने मानिसले जनार्दन आचार्यको समय-समय, विजयकुमारको आदि/इत्यादि, ध्रुवचन्द्र गौतमको साहित्यिक विचार, धु्रवहरि अधिकारीको विश्व-घटनालगायतका विचार विश्लेषण पढ्नका लागि विभिन्न कालखण्डमा एउटै टिमबाट फरक नाममा निस्किएका साप्ताहिक मञ्च, विमर्श, साप्ताहिक आवाजलगायतका पत्रिका न्युरोडमा उभिएर पढ्न थाले । पत्रकारिता गरेकै कारणले २० पटक जेल गएर मात्र नपुगी गोली खानुभएका पदम ठकुराठीसँग कुरा गर्दा अहिले पनि अभिभावकत्व पाएको महसुस गर्छु । आफ्नो विचारले राजनीति र व्यवस्थामै तरङ्ग पैदा गराउने जनार्दन आचार्यजस्तो नेपाली पत्रकारिताको एउटा कालखण्डको ऐतिहासिक व्यक्तित्वसँग काम गर्न पाएकोमा म आफूलाई गौरवशाली महसुस गर्छु । मेरो पत्रकारिताका गुरु आदरणीय जनार्दन आचार्यप्रति हार्दिक श्रद्धा-सुमन व्यक्त गर्छु । घटना र विचारबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.