नेपाल यू-१९ एसिया कपबाट बाहिरियाे

रिपोर्ट नेपाल | 2019 Sep 08 | 06:11 pm 55

काठमाडौँ, भदौ २२ : नेपाल यू–१९ एसिया कपबाट बाहिरिएको छ । श्रीलंकामा भइरहेको प्रतियोगितामा आइतबार बंगलादेश यू–१९ ले ६ विकेटले पराजित गरेसँगै नेपाल बाहिरिएको हो । नेपालको यो लगातार दोस्रो हार हो ।

पहिलो खेलमा नेपाल यू–१९ लाई श्रीलंकाले ५ विकेटले पराजित गरेको थियो । लगातार दुई खेल जितेर श्रीलंका यू–१९ र बंगलादेश यू–१९ सेमिफाइनल प्रवेश गरेका छन् ।

कोलम्बोस्थित पी सारा ओभल मैदानमा बंगलादेश यू–१९ ले टस जितेपछि ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई २ सय ६१ रन बनायो । नेपालबाट ओपनर पवन सर्राफले सर्वाधिक ८१ रन बनाए । १ सय ९ बल खेलेका उनले ८ चौका र १ छक्का प्रहार गरे ।

उनले रित गौतमसँग पहिलो विकेटमा १४ ओभर भित्र ४५ रन जोडेका थिए । रित ५३ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरी ३२ रनमा आउट भए । आसिफ शेख ३, कुशल मल्ल २८, कप्तान रोहित पौडेल १४ रनमा आउट भए ।

सन्दीप जोराले आक्रमक ब्याटिङ गरेपछि नेपालले अन्तिम ५ ओभरमा ५६ रन जोड्यो । ३७ बलमा ५६ रन बनाउने क्रममा उनले ३ चौका र ३ छक्का प्रहार गरे । भिम सार्की १९ बलमा २१, रशिद खान ६ रनमा आउट भए । कमलसिंह ऐरी ९ र हरिबहादुर चौहान १ रनमा अविजित रहे ।

मोहम्मद अक्बर अली र मोहम्मद समिर हुसैनले १ सय २ बलमा अविजित १ सय ३० रनको साझेदारी गरेपछि बंगलादेश यू–१९ ले ४ बल अगाडि लक्ष्य पुरा गर्यो । अली ९८ रनमा अविजित रहे । ८२ बल खेलेका उनले १४ चौका प्रहार गरे । हुसैनले ४५ बलमा ४२ रन बनाउनेक्रममा ४ चौका प्रहार गरे ।

मोहम्मद तावहिद हृदय ६० र महमदुल हसन रोय ४० रन बनाई आउट भएका थिए । नेपालका कमलले २ तथा रशिद र हरिले १–१ विकेट लिए । नेपालले मंगलबार युएईसँग समूह चरणको अन्तिम खेल खेल्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.