नेपाली क्रिकेट टोलीको कप्तानमा ज्ञानेन्द्र मल्ल नियुक्त

रिपोर्ट नेपाल | 2019 Oct 30 | 03:29 pm 54

काठमाडौं, कात्तिक १३: नेपाली क्रिकेट टोलीको कप्ताबाट गत असोज २७ गतेबाट पारस खड्काले राजिनामा दिएपछि रिक्त रहेको पदको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले निवर्तमान उपकप्तान ज्ञानेन्द्रलाई कप्तान तथा युवा अलराउन्डर दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको हो ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी दिएको जानकारी दिए । ज्ञानेन्द्र सन् २००९ मा पारस कप्तान बन्दादेखि उपकप्तान थिए । ज्ञानेन्द्रले विभिन्न समयमा पारसको अनुपस्थितिमा नेपाली टोलीको कप्तानी सम्हालिसकेका छन् । मल्लले सन् २०१७ मा टियु क्रिकेट मैदानमा भएको आईसीसी विश्व च्याम्पियन लिगमा केन्यासँग दुवै खेलमा कप्तानी गरेका थिए ।

दुई महिनाअघि आईसीसी टि ट्वान्टी एसिया कप छनोटमा पनि पारस घाइते हुँदा ज्ञानेन्द्रले मलेसियाविरुद्ध कप्तानी गरेका थिए । उक्त खेलमा ज्ञानेन्द्रले कीर्तिमानी अर्धशतक समेत प्रहार गरेका थिए । घरेलु क्रिकेटमा पनि ज्ञानेन्द्रले नियमित रुपमा विभिन्न टोलीको कप्तानी सम्हाल्दै आएका छन् । उनकै कप्तानीमा ललितपुर प्याट्रीयट्सले एभरेस्ट प्रिमियर लिगको गत संस्करणको उपाधि जितेको थियो ।

त्यस्तै वर्तमान उपकप्तान दीपेन्द्र पनि सिंगापुर र जिम्बाबेसँगको त्रिकोणात्मक तथा ओमानसँगको टि ट्वान्टी सिरिजमा उप कप्तान बनेका थिए । सन् २०१७ नोभेम्बरमा यू १९ एसिया कपमा भारतलाई १९ रनले हराउँदै पहिलो ऐतिहासिक जित निकाल्दा दीपेन्द्र कप्तान थिए । गत वर्ष दीपेन्द्रले आफ्नो कप्तानीमा धनगढी प्रिमियर लिगको उपाधि सिवाईसी अत्तरियालाई जिताएका थिए ।

सन् २००९ देखी कप्तान पारसले अन्तर्राष्ट्रिय क्रकेट परिषद (आईसीसी) ले तीन वर्ष सम्म लगाएको नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा भएको २४ घण्टा बित्न नपाउँदै कप्तानबाट राजिनामा दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.