नेपालको व्यापार घाटा अघिल्लो वर्षको तुलनामा दुई खर्ब २१ अर्ब

रिपोर्ट नेपाल | 2020 Jul 27 | 09:09 am 76

काठमाडौं, साउन १२ः कोरोना सङ्क्रमणले जारी बन्दाबन्दीका कारण अन्तर्राष्ट्रिय व्यापार प्रभावित हुँदा नेपालको व्यापार घाटामा व्यापक सुधार देखिएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को व्यापार तथ्याङ्क अनुसार नेपालको व्यापार घाटा अघिल्लो वर्षको तुलनामा दुई खर्ब २१ अर्ब रुपियाँले घटेको हो ।

बढ्दो आयात र निर्यातमा सामान्य मात्र वृद्धि हुँदा उक्लिँदो व्यापार घाटाको ग्राफमा कोरोनाले ‘ब्रेक’ लगाइदिएको हो । विभागका अनुसार आव २०७५/७६ मा १३ खर्ब २१ अर्ब रुपियाँ रहेको नेपालको व्यापार घाटा १६.७१ प्रतिशतले घटेर ११ खर्ब ६४ करोड रुपियाँ पुगेको हो ।

विश्व नै बन्दाबन्दीको अवस्थामा रहँदा नेपालको समग्र अन्तर्राष्ट्रिय व्यापार तथ्याङ्क घटेको देखिन्छ । समग्र आयात नै १५.६३ प्रतिशतले घटेर समीक्षा अवधिमा ११ खर्ब ९६ अर्ब रुपियाँ पुगेको छ । त्यसको अघिल्लो आवमा नेपालले १४ खर्ब १८ अर्ब रुपियाँको वस्तु आयात गरेको थियो ।

आयातमा देखिएको करिब दुई खर्ब २२ अर्ब रुपियाँको अन्तरले नेपालको विदेशी मुद्रा सञ्चिति बढाएको छ । अर्थ मन्त्रालयका अनुसार अहिले नेपालसँग करिब १३ खर्ब रुपैयाँको विदेशी मुद्राको सञ्चिति छ । जुन समीक्षा अवधि अनुसार एक वर्षको आयात धान्न पर्याप्त देखिन्छ । गोरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.