नेकपाका दुई समूहबीच मत बाझियाे

रिपोर्ट नेपाल | 2019 Jun 12 | 07:42 am 64

काठमाडौं, जेठ २९: सत्तारुढ नेकपाको युवा भ्रातृ संगठनमा नाम–विवाद बल्झेको छ । संगठनको औपचारिक एकता भइसकेपछि पनि नाम के राख्ने भनेर दुई समूहबीच मत बाझिएको हो ।

पूर्वमाओवादी समूह आफ्नो पुरानै नाम वाइसिएल (योङ कम्युनिस्ट लिग) स्थापित गर्न चाहन्छ । पूर्वएमाले समूहले युवा संघ नेपाल नामको निरन्तरतामा अडान राखेको छ । युवा संघ नेपाल तत्कालीन एमालेनिकट युवा संगठनको नाम हो । नेकपाका जनवर्गीय संगठनहरूको एकता घोषणा कार्यक्रममा ‘युवा संघ’ नाम नै घोषणा गरिएको थियो । तर, तत्कालीन माओवादीनिकट युवा नेताहरूले सो नाम स्विकारेका छैनन् ।

पार्टी महासचिवले नै यसबारे थप छलफल गरौँला भनेकाले सर्कुलर नआएसम्म संगठनको नाम आधिकारिक रूपमा टुंगिएको हामीले नमानेका हौँ, वाइसिएलका पूर्वमहासचिव सुवोधराज श्रीपाइलीले बताए । ‘विधान मस्यौदा कार्यदल र पार्टी एकीकरण कार्यदलले युवा संगठन नेपाल र राष्ट्रिय युवा संगठन नेपालमध्ये जुनसुकै नाम राखे पनि उपयुक्त हुने गरी प्रतिवेदन बुझाएका थियौँ, तर त्यसभन्दा फरक नाम घोषणा भएकाले सर्कुलर नआएसम्म पर्खौँ भन्ने हाम्रो आग्रह हो ।

एमालेनिकट युवा नेता नरेश शाहीले भने पार्टीले घोषणा गरेको नाम परिवर्तन नहुने दाबी गरे । ‘महासचिवले पार्टी निर्णयका आधारमा नाम, नेतृत्व र संख्या घोषणा गरिसकेपछि त्यसैलाई आधिकारिक मान्नुपर्छ, नेतृत्व मान्ने, नामचाहिँ नमान्ने भन्ने तर्कै हुन सक्दैन,’ तत्कालीन युवा संघका महासचिवसमेत रहेका शाहीले भने, ‘उहाँहरूले पार्टी महासचिवको सर्कुलरसम्म पर्खौँ भन्नुभएको छ, तर अब परिवर्तन हुन्छ भन्ने मलाई लाग्दैन ।

३ जेठमा जनसंगठन एकीकरण घोषणा कार्यक्रममा युवाहरूको भ्रातृ संगठनको नाम युवा संघ नेपाल तथा संयोजक रामप्रसाद सापकोटा‘दीपशिखा’ र सहसंयोजक रमेश पौडेलको नाम घोषणा भएको थियो । महासचिव विष्णु पौडेलले संघको केन्द्रीय समिति २ सय ५१ सदस्यीय हुने घोषणा गरेका थिए । सापकोटा तत्कालीन वाइसिएलका अध्यक्ष तथा पौडेल युवा संघका अध्यक्ष हुन् ।

३ जेठमा जनसंगठन एकीकरण घोषणा कार्यक्रममा युवाहरूको भ्रातृ संगठनको नाम युवा संघ नेपाल रहने र केन्द्रीय समिति दुई सय ५१ सदस्यीय हुने घोषणा भएको थियो, तर एकताको एक महिना नबित्दै नामका बारेमा दुई समूहबीच मत बाझिएको छ ।

पूर्वएमालेको युवा संघ नेपाल समूहले पार्टी नेतृत्वको निर्णयलाई विधि, प्रक्रियाबाहिर गएर कसैले चुनौती दिन नसक्ने अडान राख्दै आएको छ । पूर्ववाइसिएल समूहले भने युवा संगठनका दुवै समूहका तत्कालीन महासचिवसहितको ५ सदस्यीय कार्यदल र पार्टी एकीकरणका लागि गठित कार्यदलले बुझाएका दुईवटा साझा नाम सर्कुलरमा नआएको भन्दै युवा संघ नमान्ने अडान राखेको छ ।

विधान मस्यौदा कार्यदलमा तत्कालीन युवा संघका महासचिव शाही र वाइसिएलका महासचिव श्रीपाइलीसहित दुवैतर्फका ३ सचिव थिए । जसअनुसार वाइसिएलले राष्ट्रिय युवा संगठन नेपाल र युवा संघले युवा संगठन नेपालको नाम पार्टी नेतृत्वसमक्ष प्रस्ताव गरेको थियो । संगठनको नेतृत्व पूर्वमाओवादी समूहले पाइसकेपछि नाम स्विकार्नुपर्ने युवा संघ समूहको तर्क छ ।

केन्द्रीय सदस्य अझै छानिएनन्
युवा संघले केन्द्रीय कमिटी पनि चयन गर्न सकेको छैन । तत्कालीन युवा संघ र वाइसिएलका महासचिव रहेको विधान मस्यौदा उपसमितिले २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी रहने गरी अन्तरिम विधान संयोजक र सहसंयोजकलाई बुझाएको छ । अन्तरिम विधानअनुसार तत्कालीन युवा संघको २ सय ५६ सदस्यीय तथा वाइसिएलको २ सय १६ सदस्यीयसहित ४ सय ७२ जनाबाट अब युवा संघ नेपालको नयाँ केन्द्रीय कमिटी चुनिनेछ । कार्यदलका संयोजक युवा संघका तत्कालीन महासचिव नरेश शाहीले केन्द्रीय कमिटी सदस्यहरूको नामावली संयोजक र सहसंयोजकलाई नै टुंग्याउन आग्रह गरिएको बताए । आजको नयाँ पत्रिकाबाट

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.