निर्वाचन तयारी समितिको बैठक आज बस्दै

| 2022 Apr 10 | 09:04 am 241

काठमाडौँ चैत २७ : पाँच दलीय गठबन्धनले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बस्ने भएको समिति सदस्य तथा नेकपा एकीकृत समाजवादीका महासचिव डा.बेदुराम भुसालले जानकारी दिए ।

बैठकमा जिल्ला तहबाट आएका प्रतिवेदनहरूको अध्ययन र विश्लेषण हुने भएको छ । निर्वाचनमा तालमेलको ‘मोडालिटी’बारे पनि छलफल हुने भएको भुसालले बताए । प्रतिवेदन आउन ढिलाइ हुँदा समितिले काम गर्न पाएको छैन । यसअघि समितिको बैठक २३ चैतमा बसेको थियो । जिल्ला र स्थानीय तहमा भएको दलगत स्थितिबारेको प्रतिवेदन समितिले शनिबारसम्म मागेको थियो ।

२२ चैतमा बसेको गठबन्धन दलहरूका शीर्ष नेताहरूको बैठकले निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको हो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन भएको समितिमा गठबन्धनका अन्य दलका नेताहरू पनि सम्मिलित छन् । । आजको नेपाल समाचारपत्र बाट

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.