निर्वाचन आचारसंहिता उल्लंघन भए कारबाही गरिने

| 2022 Apr 15 | 06:57 am 185

काठमाडौं, बैशाख २ः निर्वाचन आयोगले आचारसंहिताको पालना भए वा नभएको विषयलाई सूक्ष्म निगरानीमा राखेको बताउँदै त्यसको उल्लंघन भए कारबाही गरिने स्पष्ट पारेको छ ।

निर्वाचन आयोगमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिता उल्लंघनबारे बाहिर आएका विषयलाई आयोगले नोटिसमा राखेको र तीमध्ये केहीलाई आयोगले पत्राचार गरिसकेको र केहीको अध्ययन भइरहेको बताए । उनले भने–‘त्यसका आधारमा आयोगले उहाँहरूसँग बुझ्ने, स्पष्टता खोज्ने र त्यसपछि आवश्यक कारबाहीे गर्नेछ ।’

आयोगले चैत्र २५ गते आचारसंहिता लागु गरेपछि त्यसको अनुगमनका लागि केन्द्र, जिल्ला, क्षेत्र र स्थानीय तहसम्म अनुगमन संयन्त्रलाई परिचालन गरिसकेको छ । संयन्त्रको परिचालनको साथै आचारसंहिताको पालना नगरेकोमा स्पष्टीकरण समेत सोध्न शुरू गरिसकेको आयोगले जनाएको छ ।

अहिलेसम्म आयोगमा ४-५ वटा उजुरी परेको जानकारी दिँदै प्रवक्ता पौडेलले भने– ‘जति उजुरी आएका छन्, त्यसलाई प्रारम्भिक कारबाहीस्वरूप उपत्यकाको हकमा आयोगले र उपत्यकाभन्दा बाहिरका जिल्लाको हकमा सम्बन्धित प्रमुख जिल्ला अधिकारी तथा जिल्ला निर्वाचन अधिकारीले स्पष्टीकरण सोध्ने हो । त्यो हामीले गरेका छौं ।’आयोगले आचारसंहिता लागु हुनुभन्दा अगाडि सबै राजनीतिक दललाई ६० बुँदे निर्देशन दिएको थियो । त्यसमा आचारसंहितमा लेखेका कुराका अतिरिक्त निर्वाचन ऐनमा उल्लेख निर्वाचनसम्बन्धी कानुन, निर्वाचन कसुर र सजायसमेत समेटिएको छ ।

आयोगले चुनाव खर्चबारे दिएको अभिव्यक्तिलाई लिएर नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालसँग स्पष्टीकरण सोधिसकेको छ । कोइरालाले हालै मात्र २०७४ सालको प्रतिनिधिसभा चुनावमा ६ करोड रुपियाँभन्दा बढी खर्च भएको अभिव्यक्ति दिएका थिए । आयोगमा पेस गरेको विवरणमा भने २१ लाख ७५ हजार रुपियाँ मात्र उल्लेख रहेको भन्दै आयोगले के कसो भएको हो ७ दिनभित्र जानकारी दिन कोइरालालाई ध्यानाकर्षण गराइसकेको छ ।

२०७४ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारले २५ लाख रुपियाँसम्म खर्च गर्न सक्ने प्रावधान तोकिएको थियो । नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित उम्मेदवार डा. कोइरालाले आफ्नो निर्वाचन खर्चको विवरणमा आयोगसमक्ष २१ लाख ७५ हजार रुपियाँ पेस गरेका थिए ।

यस्तै, २६ चैतमा काठमाडौंको भृकुटीमण्डपमा भएको सभामा निर्वाचन आचारसंहिता उल्लंघन भएको भनेर उजुरी आएको भन्दै आयोगले तीन दिनभित्र प्रमाणसहित चित्तबुझ्दो जवाफ दिन एकीकृत समाजवादी पार्टीलाई स्पष्टीकरण सोधेको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.