निर्वाचन आचारसंहिता आजदेखि लागु हुने

| 2022 Apr 08 | 06:32 pm 313

काठमाडौँ चैत २५ : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गरेको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गर्न आयोगले पत्रकार सम्मेलन गरेर आजदेखि आचारसंहिता लागु भएको जनाएको हो । आचारसंहिता उल्लघंन भएको पाइएमा कानून बमोजिम कारबाही हुने आयोगले जनाएको छ ।

निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गरी नागरिकलाई निर्बाध ढंगले मताधिकार प्रयोग गरी लोकतन्त्र सुदृढीकरण गर्न सबैले प्रयास गर्नुपर्ने जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आचारसंहिताको उल्लंघन भएको पाइएमा आचारसंहिता उल्लघंनको प्रकृति र स्वरूप हेरी सचेत गराउने, सूचना सार्वजनिक गर्ने, कानूनतः जरिवाना र दण्ड सजाय गराउने वा उम्मेदवारी रद्दसमेत गर्न सक्ने बताए ।

‘निर्वाचन आचारसंहिताको पूर्ण पालनाबिना विश्सनीय निर्वाचन हुन सक्दैन भन्ने तथ्यलाई आत्मसात् गरी खर्चिलो र भड्किलो बन्दै गएको निर्वाचन खर्चलाई नैतिकता र इमानदारिताको अभ्यास, स्वनियन्त्रण पद्धतिको अनुसरण र सामाजिक सचेतनाको प्रयासबाट निस्तेज गर्ने सन्दर्भमा साझा सङ्कल्प र इमानदार प्रयत्न आवश्यक पर्ने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाएका छन्।

निर्वाचन प्रचारका लागि झोला, क्याप, टिसर्ट लगायतका सामाग्री बनाउन वा वितरणसमेत गर्न नपाउने व्यवस्था आचारसंहितामा रहेको आयोगले स्मरण गराएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.